२०८३ साउन २१ गते बिहीबार

काँग्रेस महामन्त्रीलाई तरुण दलको आग्रहः पार्टीलाई जुटाउनेतिर लाग्नुस्, सिंगो पार्टीको नेता बनाउँछौ

काँग्रेस महामन्त्रीलाई तरुण दलको आग्रहः पार्टीलाई जुटाउनेतिर लाग्नुस्, सिंगो पार्टीको नेता बनाउँछौ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस २९ गते मंगलबार ०३:३४

महामन्त्री थापा सिंगो पार्टीको नेता बन्नसक्ने भएकाले उहाँलाई पार्टीलाई एकतावद्ध बनाएर लैजान आग्रह गरिएको पनि तरुण दलका सभापति विद्वान गुरुङले बताए ।

पोखरा ।

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पार्टी एकताको पक्षमा दबाब अभियान शुरु गरेको छ ।

विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन प्रक्रिया शुरु गरिरहेका बेला संस्थापन पक्ष निकट तरुण दलका नेता, कार्यकर्ताहरुले ले मंगलबार सानेपास्थित पार्टी कार्यालयमा भेला भएर पार्टी एकताको पक्षमा दवाव दिएका हुन् ।

उनीहरुले पार्टीलाई एकतावद्ध बनाएर लैजान महामन्त्री गगनकुमार थापालाई आग्रह समेत गरेका छन् ।

महामन्त्री थापा सिंगो पार्टीको नेता बन्नसक्ने भएकाले उहाँलाई पार्टीलाई एकतावद्ध बनाएर लैजान आग्रह गरिएको पनि तरुण दलका सभापति विद्वान गुरुङले बताए ।

उनले पार्टी सभापति शेरबहादुर देउवा पार्टी एकताको पक्षमा रहेको र त्यसैकारण दुई पक्षबीच वार्ता भईरहेको समेत बताए ।

अध्यक्ष गुरुङले भने,‘अहिले नेपाल काँग्रेस जटिल अवस्थामा छ । एकातिर पार्टीले नियमित महाधिवेशनको कार्यतालिका निकालिसकेको छ । अर्कोतिर विशेष महाधिवेशनका समुद्घाटन भइसकेको छ । र उता पनि बन्दसत्र भइराखेको छ । नेपाली काँग्रेसलाई अझै पनि हामी चाहन्छौँ– यसलाई एकतावद्ध रुपमा लैजानका लागि दुवै पक्षका नेताहरुका बीचमा अहिले पनि सम्वाद भइराखेको छ । हामीलाई आशा छ–यो चुनौतिको घडीमा नेपाली काँग्रेस एक भएर जाने छ भन्ने हामीले विश्वास लिएका छौ । र नेपाली काँग्रेस भ्रातृ संगठन तरुण दल भएको कारणले गर्दा अहिले हामी सबै तरुणहरु नेपाली काँग्रेसका केन्द्रिय कार्यालयमा जम्मा भएका छौँ । पार्टी एकताको पक्षमा हामीले सबै नेताहरुलाई दवाव पनि दिईरहेका छौ । यदि पार्टी एकता भएन र , पार्टी विभाजन भएको अवस्थामा नेपाली काँग्रेसको केन्द्रिय कार्यालयमा कहीँकतैबाट पनि त्यो खालको हस्तक्षेप नहोस भन्नका लागि नेपाल तरुण दल तयारी अवस्थामा बसेको छ । हामीलाई के विश्वास छ भने गगन थापा नेपाली काँग्रेसका महामन्त्री पनि हुनुहुन्छ । उहाँ जनताको प्रिय नेता पनि हुनुहुन्छ । हमीलाई विश्वास छ–उहाँलाई सिंगो पार्टीको नेता बनाउन हामीले चाहेका छौ । त्यस्तो खालको दवाव पनि छ । विशेष महाधिवेशनमा सिग्नेचर गर्ने साथीहरु पनि पार्टीलाई फुट्न दिनुहुँदैन भन्ने दवाव दिईरहनु भएको छ । निर्वाचन कार्यतालिका निकालेको भन्ने पनि हामीले सुनेका छौँ । महामन्त्रीज्यूलाई हामी के आग्रह गर्न चाहन्छौँ भने अहिलेको अवस्थामा तपाईले नेपाली काँग्रेसलाई फुटाएर होइन, जुटाएर लैजाने कुरामा तपाईले पक्कै पहल गर्नुहुन्छ भन्ने कुरामा हामीले त्यो अनुरोध गर्न चाहन्छौँ । सभापति देउवा पार्टी एकताको पक्षमा हुनुहुन्छ । उहाँकै कारण आज यो वार्ता भइरहेको हो ।’

नेपाल तरुण दलका नेता, कार्यकर्ताहरुले पार्टी विभाजन भएपनि पार्टी कार्यालय सानेपा कब्जा गर्न कसैलाई पनि नदिने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति २०८२ पुस २९ गते मंगलबार ०३:३४
हजुरको प्रतिक्रिया