पोखरा । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समितिको पहिलो बैठक बसेको छ ।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट बुधबार निर्वाचित केन्द्रीय कार्य समितिको बैठक ललितपुरको कुपन्डोलमा बसेको हो ।
बैठकपछि विशेष महाधिवेशनको नतिजा अद्यावधिक गर्न यो समूह आज निर्वाचन आयोग जानेछ ।
नेपाली कांग्रेसले विशेष महाधिवेशन गरेको र त्यसबाट नयाँ नेतृत्व चयन गरेकाले अभिलेख अद्यावधिक गर्न आयोग जाने तयारी भएको अधिवक्ता राजु कटवालले बताए ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनका कागजात र अभिलेख दस्तावेजीकरण गर्न उनीसहितको टोलीले सहजीकरण गरिरहेका छन् ।
नयाँ समितिमा गण्डकीबाट को को समेटिए ?
गगन नेतृत्वको नयाँ समितिमा गण्डकी प्रदेशबाट पदाधिकारी सहित उल्लेख्य संख्यामा केन्द्रीय सदस्य समेटिएका छन् ।
तनहुँका प्रदीप पौडेल महामन्त्री बनेका छन् । उनी १४ औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका थिए ।
केन्द्रीय सदस्यमा पर्वतका अर्जुनप्रसाद जोशी, गोरखाका चिनकाजी श्रेष्ठ, टेकराज पौडेल र जगदिशचन्द्र उपाध्याय, तनहुँका ध्रुव वाग्ले, कास्कीका देवराज चालिसे र तिलक रानाभाट चयन भएका छन् ।
महिला केन्द्रीय सदस्यमा बागलुङकी चम्पादेवी खड्का र तनहुँकी चिनु पोखरेल चयन भएका छन् भने विष्णुदेवी पाण्डे भूगोलबाट महिला सदस्य बनेकी छन् ।
भूगोलबाट कास्कीका कृष्ण केसी र म्याग्दीका रेशम बानियाँ केन्द्रीय सदस्य बनेका छन् ।
अपांगता कोटाबाट तनहुँका प्रकाश पन्थ केन्द्रिय सदस्य चुनिएका छन् ।
आदिवासी जनजाति खुलाबाट बागलुङका भीम श्रीस, आदिवासी जनजाति महिलाबाट गोरखाकी मनकुमारी गुरुङ, खस आर्य महिलाबाट पर्वतकी मुना भुषाल, खस आर्य पुरुषबाट नवलपुरका विष्णुकुमार कार्की र मुस्लिमबाट गोरखाका अब्दुल सत्तार चयन भएका छन् । त्यसैगरी मुस्लिम महिलाबाट पर्वतकी सनम बेगम र दलित क्लष्टरबाट गोरखाका दिनेश सुनार केन्द्रीय सदस्य बनेका छन् ।
प्रकाशित मिति २०८२ माघ २ गते बिहीबार ०१:३२




