पोखरा ।
नेपाली काँग्रेसका शेरबहादुर देउवा पक्षिय नेताहरु निर्वाचन आयोगको निर्णयको विरुद्धमा आईतबार सर्वोच्च अदालत जाने भएका छन् ।
निर्वाचन आयोगले नेपाली काँग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचिन गगन थापाको समूहलाई दिएपछि देउवा पक्षधर नेताहरु सर्वोच्च जाने भएको हो ।
शनिबार देउवा पक्षका नेताहरुको पार्टी केन्द्रिय कार्यलयमा बसेको बैठकले आयोगले गरेको निर्णय विरुद्ध संवैधानिक एवं कानूनी उपचार तथा राजनैतिक प्रतिवाद गर्ने निर्णय गरेको नेता डा.प्रकाशशरण महतले जानकारी दिए ।
उनले आयोगको निर्णय विरुद्ध आईतवार सर्वोच्च अदालतमा रिट निवेदन दिने बताए । उनले आयोगले आफूहरुको कुरा समेत नसुनीकन एकपक्षिय ढंगले निर्णय गरेको आरोप लगाए ।
विशेष महाधिवेशनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्या समेत आयोगले नहेरिकन दुषित मनसायले आयोगले निर्णय गरेको उनको दाबी छ ।
काँग्रेसलाई क्षति पु¥याउनेगरी आयोगले निर्णय आफूहरुलाई अमान्य भएको उनले बताए । उनले कांग्रेसको विधान र निर्वाचन सम्बन्धी कानूनलाई पनि ख्याल नगरेर आयोगले अन्यायपूर्ण दुषित मनशायबाट निर्णय गरेको उल्लेख गरे ।
यसको विरुद्ध अदालत जाने र अदातलले आफूहरुलाई न्याय गर्ने उनले विश्वास व्यक्त गरे ।
उनले भने, ‘तथाकथित विशेष महाधिशेनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्या समेत नहेरी एकलौटी रुपले गरिएको निर्णय दुषित मनशायले प्ररित रहेको यो बैठक ठहर गर्दछ । देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत रुपमा निर्वाचित केन्द्रिय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी नेपाली काँग्रेसलाई गम्भिर क्षति पु¥याउने मनशाय प्रष्ट देखिन्छ । यो निर्णय मुलकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनमा पार्ने षडयन्त्रको एक अंश हो । निर्वाचन आयोगको दुराशयपूर्ण निर्णयको कडा विरोध गर्दै यो बैठक उक्त निर्णय विरुद्ध संवैधानिक एवं कानूनी उपचार तथा राजनैतिक प्रतिवाद गर्ने निर्णय गर्दछ । भोली हामी यसको विरुद्धमा सर्वोच्च अदालतमा जान्छौँ । निर्वाचन आयोगले हामीलाई बोलाउँदा पनि नबोलाईकन, हाम्रो पक्षलाई बोलाएर सुन्ने औपचारिकता पनि उहाँहरुले पूरा गर्नुभएन । यो नजिर हाम्रो विधान, हाम्रो निर्वाचन सम्बन्धी जुन व्यवस्था छ, यो कुनैपनि पालना निर्वाचन आयोगले नगरेको ठहर्छ । यो अन्यायपूर्ण दुषित मनशायबाट गरिएको निर्णय भएको हुनाले सर्वोच्च अदालत नै हाम्रो अन्तिम सुनुवाई गर्ने ठाउँ हो । त्यसो भएको हुनाले सर्वोच्च अदालतमा हामी हाम्रो मुद्दा पेश गर्छौं र यसको विरुद्धमा जान्छौँ ।’
उनले नेपाली काँग्रेसको वैधानिकता १४ औँ महाधिवेशनबाट निर्वाचिन सभापति शेरबहादुर देउवा र आफूहरुसँगै रहेको पनि दाबी गरे । आयोगको निर्णयलाई अदालतले सच्याउने उनको दाबी छ ।
प्रकाशित मिति २०८२ माघ ४ गते शनिबार १२:४७




