दलहरु प्रत्यक्षतर्फको उम्मेदवार टुंगो लगाउन व्यस्त
पोखरा ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि प्रत्यक्षतर्फ मनोनयन दर्ताको लागि १ दिन बाँकी रहँदा दलहरू उम्मेदवार टुंगो लगाउन व्यस्त भएका छन् ।
भोलि उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम रहेकाले दलहरू टिकट बाँडफाँटमा केन्द्रित भएका हुन् । एमालेले धेरैजसो निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाइसकेको छ ।
१ सय ६५ निर्वाचन क्षेत्रमध्ये धेरैमा उम्मेदवार टुंगो लागिसकेको एमालेले जनाएको छ । त्यस्तै नेकपाले पनि धमाधम टिकट वितरण गरिरहेको छ । नेकपाले हिजोसम्म ३ वटा प्रदेशमा उम्मेदवार टुंगो लगाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवारहरूलाई चुनावका लागि टिकट दिन शुरू गरेको छ ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि धेरैजसो प्रदेशमा उम्मेदवार टुंग्याइसकेको छ । राप्रपाले १ सय ४० क्षेत्रमा टुंग्याएको छ ।
यता नेपाली कांग्रेसले सभापति गगन थापाको अध्यक्षतामा टिकट वितरणका लागि संसदीय बोर्ड गठन गरेको छ । कांग्रेसले चुनावमा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरिसकेको छ ।
अरु दलले उम्मेदवार टुंग्याउन शुरू गरे पनि आन्तरिक विवादका कारण कांग्रेस भने अझै अलमलमा छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज दिनभरमा उम्मेदवार छनोटको प्रक्रिया टुंग्याइने बताएका छन् ।
आज बिहान फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले पार्टीको आधिकारिक टिकट पाउने उम्मेदवारको पक्षमा मनमा कुनै गुनासो नराखी एकढिक्का भएर लाग्न पार्टी पंक्तिलाई अपिल गरेका छन् ।
उम्मेदवार छनोट अन्तिम चरणमा पुगेको उल्लेख गर्दै सभापति थापाले समयको चाप र कानूनी प्रक्रियाका कारण केही अप्ठ्यारो अवस्था आएको स्वीकार गरेका छन् ।
यद्यपि, पार्टीभित्र नयाँ–पुरानो सन्तुलन, समावेशिता र सबैलाई न्याय हुने गरी अधिकतम कोसिस भइरहेको उनको भनाइ छ ।
भोलिदेखि सबै नेता–कार्यकर्ता आ–आफ्नो निर्वाचन क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउने अभियानमा जुट्न पनि उनले आग्रह गरे ।
चित्त नबुझेका कुरा भए पनि रूख चिह्न पाउने उम्मेदवारको पक्षमा सबै एकजुट भएर लाग्न थापाको अपिल छ ।
प्रकाशित मिति २०८२ माघ ६ गते सोमबार ११:५६




