पोखरा ।
राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता डा. वेदुराम भुसालले वर्तमान सरकारले आसन्न प्रतिनिधिसभाको निर्वाचन धाँधलीरहित ढंगले सम्पन्न गर्नेमा आशंका रहेको बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभाको १९औँ अधिवेशनको शुभारम्भमा बोल्दै उनले सो कुरा बताएका हुन् । त्यसैगरी उनले सो निर्वाचनमा नेपाली जनताले मुल्ुकको संविधानलाई लयमा फर्काउने राजनीतिक दलहरुलाई चयन गर्नुपर्ने बताए ।
नेता भुसालले संविधान च्यात्छु भन्ने, मुलुकमा ध्वंश मच्चाउने शक्तिहरुलाई निर्वाचनमा पराजय गराउने जिम्मेवारी नेपाली जनताको आएको समेत बताए ।
उनले राष्ट्रिय सभालाई प्रभावकारी बनाउने विषयमा जोड दिन आवश्यक रहेको बताए ।
नेता भुसालले भने,‘निर्वाचनसँग जोडिएर कुरा गर्दा अब जनताकाले कस्तो प्रतिनिधि चुन्ने ? एउटा गम्भिर प्रश्न जनताको माझमा खडा भएको छ । सबभन्दा पहिलो प्रश्न त यो सरकारले यो निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित गराउन सक्छ कि सक्दैन ? गम्भिर प्रश्न त्यहाँ छदैछ । सँगसँगै नेपाली जनताले कस्ता प्रतिनिधि छान्ने भन्ने प्रश्न पनि खडा भएको छ । देशलाई संविधानको बाटोमा अघि बढाउनका लागि काम गर्ने प्रतिनिधि छान्ने हो कि यस संविधानलाई च्यातेर फाल्नुपर्छ भन्ने जस्ता मानिसहरुलाई प्रतिनिधि छान्ने हो ? देश निर्माण गर्नुपर्छ भन्ने प्रतिनिधि छान्ने हो कि देशलाई ध्वंस बनाउने, भएका संरचनाहरु ध्वंंश गर्नेहरुलाई छान्ने हो ? यो गम्भिर प्रश्न हाम्रा सामू छन । जनताका सामू पनि छन् । यस्तो अवस्थामा हामी यो सभाको बैठक बसिरहेका छौँ ।’
नेता भुसालले मुलुकलाई सही ढंगले अघि बढाउन राजनीतिक दलहरुले मिलेर अघि बढ्नुपर्ने समेत बताए ।
प्रकाशित मिति २०८२ माघ १० गते शुक्रबार ०२:१५




