२०८३ साउन २१ गते बिहीबार

निर्वाचन आयोगद्वारा विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमुना सार्वजनिक

निर्वाचन आयोगद्वारा विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमुना सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ १७ गते शुक्रबार १२:५७

आयोगले सातवटै प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको हो । एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अर्को प्रकारको मतपत्रको नमुनासमेत आयोगले सार्वजनिक गरेको छ ।

पोखरा ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमुना सार्वजनिक गरेको छ ।

आयोगले सातवटै प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको हो । एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अर्को प्रकारको मतपत्रको नमुनासमेत आयोगले सार्वजनिक गरेको छ ।

त्यसैगरी, उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमुना तयार पारेको आयोगले प्रष्ट पारेको छ ।

उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रको हकमा भने सानो मतपत्र रहने भएको छ ।

सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौँमा उम्मेदवार पनि बढी भएकाले मतपत्रको आकार ठूलो हुनेछ ।

आयोगका अनुसार कर्णाली प्रदेशको सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ ।

दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र रहेको छ । ती जिल्लाको वास्तविक मतपत्रको नमुनासमेत आयोगले सार्वजनिक गरेको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेको छ ।

ती सबै निर्वाचन क्षेत्रको वास्तविक मतपत्रको नमुनासमेत आयोगले सार्वजनिक गरेको छ । अन्य जिल्लाका पनि वास्तविक मतपत्र क्रमशः सार्वजनिक गर्दै जाने आयोगले जनाएको छ ।

जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ सम्पन्न भइसकेको जनाएको छ ।

त्यसैगरी, आयोगले विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रको नमूना मतपत्र तयार पारेर निर्वाचन सचेतनाको कार्यक्रम पनि अगाडि बढाएको छ ।

मतदाता सचेतना कार्यक्रमका लागि तयार पारिएको नमुना मतपत्र विभिन्न मतदान केन्द्र मातहत पुर्याउने काम पनि अगाडि बढेको आयोगले जनाएको छ ।

प्रकाशित मिति २०८२ माघ १७ गते शुक्रबार १२:५७
हजुरको प्रतिक्रिया