पोखरा ।
नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाज सबैभन्दा बढी काँग्रेसले आत्मसात गरेको दाबी गरेका छन् ।
शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताहरुसमक्षको भेटघाट कार्यक्रमाा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले गत भदौ २३ र २४ गतेको आन्दोलनमा अराजकता मात्रै भएको दाबी आफूहरुले नगरेको भन्दै युवा पुस्ताको आन्दोलनलाई आफूहरुले आत्मसात गरेको जिकिर गरे ।
महामन्त्री पौडेलले सुशासन सबै नेपाली जनताले चाहेको भन्दै नागरिक स्वतन्त्रता उपयोग गर्ने कुरामा कतै बन्देज हुनु नहुने बताए ।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको मुद्दा सबैभन्दा बढी नेपाली काँग्रेसले आत्मसात गरेको उनको दाबी छ । आफूले गत निर्वाचनमा बोलेका सबै कुरा गर्न नसके पनि कुनै नराम्रो काम नगरेको बताए ।
सरकारमा रहेर आफूले समस्या र समाधानका उपायहरु केलाएको बताए ।
उनले भने, ‘भदौ २३ र २४ को जेन–जी आन्दोलनमा अराजकता मात्रै भयो हामीले भनेका छैनौँ । त्यहाँ राजनीतिक विषय थिएन भनेर हामीले भनेका छैनौँ । एउटा पुस्ताको नाममा आन्दोलन भयो तर त्यो पुस्ताले सम्पूर्ण नेपालीको विषय उठाएको थियो । सुशासन सबै नेपाली जनताले चाहेको कुरा हो । अति राजनीतिकरणको अन्त्य सबैले भनेको विषय हो । नागरिक स्वतन्त्रता उपयोग गर्ने कुरामा कतै बन्देज हुनु हुँदैन त्यो हामी सबैले चाहेको विषय हो । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको मुद्दा सबैभन्दा बढी नेपाली काँग्रेसले आत्मसात गरेको छ । भदौ २३ र २४ लाई सबैभन्दा बढी नेपाली काँग्रेसले सुनेको छ । त्यही सुनेर हामीप्रति पनि खबरदारी भएको हो भने आफैँलाई परिमार्जन गरेर अघि बढिरहेका छौँ । त्यसैले युवा पुस्ताको आवाज सुन्ने सवालमा पनि नेपाली काँग्रेसले तम्तयार पारेर अघि लगेको छ । मैले सबै काम गरेँ म भन्दिनँ । कतिपय जति प्रभवकारिता प्रश्तुत गर्न सक्नुपर्दथ्यो, त्यो सकिँदो रहेनछ । कतिपय कुराहरु अनुभवले पनि सिकाउने रहेछ । आज राज्य प्रणालीलाई शत प्रतिशत बुझेको छु भन्दित तर सबै पक्षबाट पहिला भन्दा राम्रोसँग बुझेको छु । सुधार कहाँ कहाँ गर्नुपर्ने हो, समाधान के हो भन्नेमा म स्पष्ट छु ।मैले पहिला सबै गरेँ भन्दिनँ तर मैले केही बिगारेको छैन ।’
महामन्त्री पौडेलले यसअघि जिताउँदा बेलाको जस्तै आफू अहिले पनि त्यस्तै रहेको बताए ।
आफूप्रतिको विश्वास आगामी निर्वाचनमा पनि गरिदिन आग्रह गर्दै उनले नयाँ पन खोजिएको अवस्थामा नयाँ फेरिने मात्रै नभइ परिणाम सकारात्मक खोजिएको बताए ।
प्रकाशित मिति २०८२ माघ १८ गते शनिबार ०१:०५




