पोखरा ।
नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले आफ्नो पार्टीलाई सिध्याउन देशभित्र र बाहिरका शक्तिहरुले अनेक षडयन्त्र गरिरहेको बताएका छन् ।
बुधबार पार्टीका तर्फबाट काठमाडौं उपत्यकाका उम्मेदवारहरुसँगको अन्तरक्रिया संवाद कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेका हुन् ।
नेता पोखरेलले एमालेमाथि भइरहेको षड्यन्त्रलाई हाबी हुन नदिने गरी पार्टीको आन्तरिक एकतालाई सुदृढ बनाउने काम भइरहेको दाबी समेत गरे ।
त्यस अवसरमा वरिष्ठ नेता पोखरेलले एमालेले आसन्न निर्वाचनको चुनावी घोषणा पत्रको तयारीको काम अन्तिम चरणमा पु¥याएको र त्यसमा आफूहरुले गर्नसक्ने कामको समयसीमासहित एजेण्डा समावेश गरिने समेत बताए ।
उनले भने,‘नेकपा एमाले एउटा यस्तो शक्ति हो, जसलाई कमजोर बनाउन, सिध्याउन अनेक खालका षडयन्त्रपूर्ण गतिविधिहरु हुने गरेका छन् । देखिने, नदेखिने, भित्रका, बाहिरका यस खालका गतिविधिहरु हुने गरेका छन् । तर हामीले के बुझ्नुपर्दछ भने बाहिरी षड्यन्त्रहरुलाई चिर्नका लागि भित्री रुपमा मजदुत हुनुपर्दछ । भित्री रुपमा कमजोर भइयो भने बाहिरी षड्यन्त्र हावी हुन्छ । त्यो हावी हुन दिने पक्षमा हामी छैनौँ । हामी आन्तरिक रुपमा सुदृढ हुन चाहन्छौँ । त्यसकारण एमालेको बारेमा केही अलमल हुनुपर्ने अवस्था छैन ।’
नेता पोखरेलले जेन–जी आन्दोलनको नाममा भएका राष्ट्रहित विपरितका गतिविधिप्रति मात्रै एमालेको आपत्ति रहेको समेत बताए ।
प्रकाशित मिति २०८२ माघ २२ गते बुधबार ०२:३६




