पोखरा ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मुलुकको दिगो विकास र समृद्धिका लागि विध्वंसात्मक बाटो छोडेर संवाद र सुधारको मार्ग अवलम्वन गर्नुपर्ने बताएका छन् ।
‘जेन–जी प्रदर्शनपछिको व्यावसायिक वातावरण’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेपालको भविष्य विध्वंश र अराजकतामा नभइ संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित रहेको बताए ।
दाहालले निजी क्षेत्रको आत्मविश्वास नफर्किएसम्म अर्थतन्त्र बलियो हुन नसक्ने चेतावनी दिए ।
भदौ २३ र २४ गतेका घटनाहरूले राष्ट्रिय जीवनमा गम्भीर प्रश्न उब्जाएको र त्यसले लगानीकर्ताको मनोविज्ञानमा गहिरो चोट पु¥याएको उल्लेख गर्दै अधयक्ष दाहालले भ्रष्टाचार र कुशासन विरुद्ध उठ्ने नागरिक आवाज जायज भए पनि त्यसको आवरणमा हुने भौतिक विनाशले मुलुकलाई असफल राष्ट्रतर्फ धकेल्ने चिन्ता व्यक्त गरे ।
अध्ययन प्रतिवेदनलाई उद्धृत गर्दै अध्यक्षले भदौको प्रदर्शनका क्रममा निजी क्षेत्रमा ३४ अर्ब रुपैयाँको प्रत्यक्ष भौतिक क्षति र ८१ अर्ब रुपैयाँ बराबरको अप्रत्यक्ष आर्थिक क्षति भएको बताए । ९८ प्रतिशत व्यवसायीको मनोबल खस्कनु र ९७ प्रतिशतले लगानीको वातावरण कमजोर भएको महशुस गर्नु अर्थतन्त्रका लागि खतराको घण्टी भएको उनको भनाइ छ ।
अध्यक्ष दाहालले राष्ट्रिय सभा लगानीको सुरक्षा सुनिश्चित गर्न, भ्रष्टाचारमुक्त सुशासन कायम गर्न र व्यवसायमैत्री कानुन निर्माण गर्न सदैव तत्पर रहने प्रतिवद्धता समेत व्यक्त गरे ।
प्रकाशित मिति २०८२ माघ २७ गते सोमबार १२:२६




