पोखरा ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विचार र सिद्धान्तविहीन ‘लोकप्रियतावाद’ले लोकतन्त्र र समाजवादमाथि प्रहार गरिरहेको बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले २६ दलको एकता र नयाँ निर्वाचन चिह्न ‘तारा’ सहित आफ्नो पार्टी राष्ट्रिय सङ्कट सामना गर्न तयार रहेको उद्घोष गरेका हुन् ।
प्रचण्डले सामाजिक सञ्जालमा गरिने ‘स्टन्ट’ र लोकप्रियतावादको आलोचना गरे । विचार, राजनीति र इतिहास नभए पनि सामाजिक सञ्जालमा फण्डा गरेकै भरमा लोकतन्त्र र समाजवादमाथि प्रहार गर्ने कोशिस भइरहेको उनको भनाई छ ।
यो अन्तर्राष्ट्रिय भूराजनीतिक चलखेल र साम्राज्यवादले फैलाएको लोकप्रियतावादको नेपाली संस्करण मात्र भएको प्रचण्डले टिप्पणी गरे ।
गणतन्त्र, सङ्घीयता र उत्पीडित वर्गको अधिकारका लागि लड्ने आफ्नो पार्टी नै सबैभन्दा ‘नयाँ’ विचार बोकेको शक्ति भएको प्रचण्डको दाबी छ ।
अध्यक्ष दाहालले ‘जेन–जी’ आन्दोलन र त्यसबाट उत्पन्न विशेष परिस्थितिलाई सम्बोधन गर्न देशमा एक बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको औँल्याए ।
सोही आवश्यकता पूर्ति गर्न वामपन्थी, समाजवादी र देशभक्तहरूलाई एकतावद्ध गर्दै २६ वटा साना–ठूला पार्टीहरूको एकताबाट ‘नेपाली कम्युनिस्ट पार्टी’ निर्माण गरिएको उनले बताए ।
‘आजको जटिल राजनीतिक परिस्थितिमा चुनाव नै जनताको बिचमा जाने सबभन्दा राम्रो माध्यम हो र नयाँ जनअनुमोदित भएर आउने प्रतिनिधि सभाले नै जेन्जीका मागहरूलाई पनि सम्बोधन गर्नसक्छ’ उनले भने ।
प्रकाशित मिति २०८२ माघ २७ गते सोमबार १२:५६




