पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गर्नुअघि गम्भीर रूपमा सोच्न मतदातालाई आग्रह गरेका छन्।
चुनावी अभियानका क्रममा कास्की आइपुगेका अध्यक्ष लिङ्देनले कोणसभालाई सम्बोधन गर्दै लहडका भरमा मतदान गर्दा देश पछाडि पर्ने भएकाले विवेक प्रयोग गर्नुपर्ने बताए।
उनले २०६४ सालको निर्वाचनको उदाहरण दिँदै भावनात्मक लहरका आधारमा गरिएको निर्णयले अपेक्षित परिणाम नदिएको उल्लेख गरे। मतदाताले कुनै पनि दल वा उम्मेदवारको नीति, विचार र पृष्ठभूमि बुझेर मात्र मतदान गर्नुपर्ने उनको भनाइ थियो।
त्यस्तै उनले वर्तमान राजनीतिक प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलहरू मौलिक रूपमा फरक नभएको टिप्पणी गर्दै राप्रपालाई वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गरे।
राप्रपाकै तर्फबाट कास्की क्षेत्र नम्बर–२ का उम्मेदवार हेमजंग गुरुङले देशमा सुशासन कायम गर्न व्यवस्था सुधार आवश्यक रहेको बताएका छन्।
पोखराको विरौटामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले बढ्दो भ्रष्टाचार अन्त्य, विकास निर्माणमा देखिएको अवरोध हटाउने तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
मतदाताको शिर नझुक्ने गरी काम गर्ने संकल्प व्यक्त गर्दै उनले फागुन २१ गते हुने मतदानमा सहयोग गर्न आग्रह गरे।
यसैगरी कास्की क्षेत्र नम्बर–३ का उम्मेदवार अर्जुन प्रसाद खनालले युवाहरू बस्न योग्य देश निर्माणका लागि आफूलाई मतदान गर्न अपिल गरेका छन्।
पोखराको हल्लनचोकमा आयोजित कोणसभामा उनले इमान्दार र उत्तरदायी राजनीति मार्फत जनताको सेवा गर्ने प्रतिबद्धता जनाए।
राजनीतिलाई पेशा वा कमाउने माध्यम बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउँदै खनालले पर्यटन क्षेत्र संकटमा परेको उल्लेख गरे। पर्यटनमैत्री नीति निर्माणका लागि संसद्मा सक्रिय भूमिका खेल्ने उनको भनाइ छ।
प्रकाशित मिति २०८२ फागुन १३ गते बुधबार ०१:३७




