पोखरा ।
निर्वाचन आयोगले फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आवश्यक पर्नसक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ ।
यसका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगले ध्यानाकर्षण गराएको हो ।
चुनावमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदाता, अशक्त, ज्येष्ठ नागरिकलगायतलाई आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि व्यवस्था मिलाउन आयोगले आह्वान गरेको हो ।
आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सबै पालिकामा आवश्यक सहयोगका लागि लेखी पठाएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
साथै अत्यावश्यक तथा आपतकालीन उपचार सेवा उपलब्ध गराउन सक्नेगरी देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा डाक्टर, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाइएको समेत आयोगले जनाएको छ ।
यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चुनावको समयमा हुन सक्ने सम्भावित दुर्घटना र अन्य आकस्मिक घटनाको जोखिमलाई हेरेर स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले मातहतका निकायलाई तयारी अवस्थामा रहन आग्रह गरिएको बताएका छन् ।
त्यस्तै निर्वाचन आयोगले एक हजार ६१ उजुरी फछर्यौट भएको जनाएको छ । जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेकोमा झण्डै ९९ प्रतिशत फछर्यौट भएको हो ।
आयोगका अनुसार प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २ सय ४४ उजुरी परेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन् ।
प्राप्त उजुरीमध्ये ९७ लिखित र ९ सय ७९ टेलिफोन, एसएमएस लगायत अन्य स्रोतबाट प्राप्त भएका थिए । प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै तोकिएको आकारभन्दा ठूला तुल ब्यानर र झण्डा प्रयोग गरेका रहेको आयोगले जनाएको छ ।
यस्तै, सामाजिक सञ्जालको दुरुपयोग गरेको, माइक बजाएर ध्वनि प्रदूषण गरेको जस्ता उजुरी रहेका छन् । त्यस्तै, शिक्षक तथा कर्मचारी र स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा हिँडेको, सार्वजनिक ठाउँ र गाडीमा झण्डा टाँगेको, अनुमति नलिएका गाडी प्रयोग गरेको लगायतका छन् ।
आयोगले आचारसंहिताको पालना गर्न आग्रह पनि गरेको छ ।
प्रकाशित मिति २०८२ फागुन १६ गते शनिबार ११:४७




