२०८३ साउन २१ गते बिहीबार

निर्वाचनमा निर्धक्क भएर मतदान गर्न प्रधानमन्त्री कार्कीको अपिल, भ्रामक सूचना फैलाउनेलाई कारबाही गर्ने चेतावनी

निर्वाचनमा निर्धक्क भएर मतदान गर्न प्रधानमन्त्री कार्कीको अपिल, भ्रामक सूचना फैलाउनेलाई कारबाही गर्ने चेतावनी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन १८ गते सोमबार ०५:०४

निर्वाचनको तयारीका सन्दर्भमा प्रधानमन्त्रीले निर्वाचन आयोग, सुरक्षा निकाय र सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको भुमिकाको प्रशंसा गरिन् ।  छोटो समयमै निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र चारवटै सुरक्षा संयन्त्रलाई पूर्ण रूपमा परिचालन गरिएको जानकारी दिँदै उनले भयरहित वातावरणमा चुनाव सम्पन्न हुने विश्वास दिलाइन् ।

पोखरा ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुन गइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छिन् ।

सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी हुन् ।

देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन यो निर्वाचन ऐतिहासिक महत्वको रहेको बताउँदै उनले मतदानलाई केवल चुनाव चिन्हमा छाप लगाउने प्रक्रिया मात्र नभई आफ्नो र सन्ततिको भविष्य निर्माण गर्ने महत्वपूर्ण निर्णय भएको बताइन् ।

प्रधानमन्त्री कार्कीले ‘जेन–जी’ आन्दोलनपछिको जटिल, संवेदनशील र चुनौतीपूर्ण परिस्थितिलाई स्मरण गरिन् । सडकमा देखिएको युवाहरूको आक्रोश र देशको भविष्यप्रतिको अन्योललाई चिर्दै हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डो¥याउन वर्तमान सरकार सफल भएको उनले दाबी गरिन् ।

निर्वाचनको तयारीका सन्दर्भमा प्रधानमन्त्रीले निर्वाचन आयोग, सुरक्षा निकाय र सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको भुमिकाको प्रशंसा गरिन् ।  छोटो समयमै निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र चारवटै सुरक्षा संयन्त्रलाई पूर्ण रूपमा परिचालन गरिएको जानकारी दिँदै उनले भयरहित वातावरणमा चुनाव सम्पन्न हुने विश्वास दिलाइन् ।

साथै, मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र संयमित ढंगले प्रचारप्रसार गर्न सम्पूर्ण राजनीतिक दल र उम्मेदवारहरूलाई उनले आग्रह गरिन् ।

उनले भनिन्, ‘ जेन–जी आन्दोलनपछिको त्यो परिस्थिति जटिल, संवेदनशील र चुनौतीपूर्ण थियो । सडकमा युवाहरूको आक्रोश थियो, सबैको मनमा डर थियो र देशकै भविष्य अन्योलमा थियो । त्यो कठिन संक्रमणलाई व्यवस्थापन गर्दै, हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डो¥याउनु र संविधानको बाटोमा फर्काउनु हाम्रो पहिलो कर्तव्य थियो । आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन संक्रमण पार गरेर यहाँसम्म आइपुगेका छौँ । विधिको शासन स्थापित गर्दै, संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएका छौँ । यो उपलब्धि तपाईँ–हामी सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम हो । अब मेरो पहिलो आग्रह तपाईँ मतदाताहरूसँग छः देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिनुहोस् । भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन । यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो । तसर्थ, फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु । दोस्रो कुरा– निर्वाचनको यस सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु। शान्ति नै नेपालको असली पहिचान हो । चुनावमा स्वस्थ प्रतिष्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाव र वैमनस्य हुनुहुँदैन । म चुनावी मैदानमा रहनुभएका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई उम्मेदवारीका लागि धन्यवाद दिन चाहन्छु । तपाईंहरूको सक्रियताले नै हाम्रो लोकतन्त्र जीवित रहने हो ।’

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल र आमसञ्चारका माध्यमबाट तथ्यहीन, कृत्रिम र भ्रामक सामग्री फैलाएर निर्वाचनको वातावरण धमिल्याउन खोज्ने तत्वहरूलाई सरकारले कडा निगरानीमा राखेको चेतावनी दिएकी छिन् ।

मुलुकमा कुनैपनि प्रकारको दण्डहीनतालाई प्रश्रय नदिइने र कानूनबमोजिम कडा कारबाही गर्न सरकार पछि नहट्ने उनको दृढ भनाइ छ ।

प्रकाशित मिति २०८२ फागुन १८ गते सोमबार ०५:०४
हजुरको प्रतिक्रिया