पोखरा ।
संघीय संसद सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई आफ्नो सम्पती विवरण बुझाउन निर्देशन दिएको छ ।
सचिवालयले आगामी जेठ १० गतेभित्र सम्पती विवरण अनिवार्य रुपमा संसद सचिवालयमा बुझाउन निर्देशन दिएको हो ।
सचिवालयकाअनुसार प्रतिनिधि सभा सदस्यहरुले आफ्नो वा आफ्नो परिवारको नाममा रहेको आर्थिक वर्ष २०८१÷०८२ को अद्यावधिक सम्पती विवरण बुझाउनुपर्नेछ ।
सार्वजनिक पद धारण गरेको व्यक्तिले पद ग्रहण गरेको मितिबाट ६० दिनभित्र आफ्नो सम्पती विवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने कानूनी प्रावधान रहेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
सोही कानूनी प्रावधानअनुसार सम्पती विवरण पेश गर्न सांसदहरुलाई औपचारिक सूचना जारी गरिएको उनको भनाई छ ।
प्रतिनिधि सभा सदस्यहरुले चैत १२ गते शपथ लिएपछि सार्वजनिक पद धारण गरेको मानिने भएकाले सो मितिबाट गणना हुनेगरी ६० दिनभित्र सम्पती विवरण बुझाउनुपर्नेछ । सचिवालयमा आफ्नो सम्पती विवरण खामबन्दी गरी गोप्य रुपमा बुझाउनुपर्ने प्रवक्ता गिरीले जानकारी दिए ।
उनकाअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ ‘क’ कार्यान्वयन गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो । सचिवालयले प्रतिनिधि सभा सदस्यहरुले बुझाएको सम्पत्ति विवरण पूर्ण रुपमा गोप्य रहने स्पष्ट पारेको छ ।
कानूनअनुसार अदालतको आदेश आएमा बाहेक अन्य कुनै अवस्थामा उक्त विवरण सार्वजनिक नहुने प्रवक्ता गिरीले जानकारी दिए । उनकाअनुसार सदस्यहरुले बुझाएको विवरणको दुरुपयोग हुनेछैन ।
उनले भने, ‘सचिवालयले सम्पती विवरण बुझाउनको लागि प्रतिनिधि सभाका सदस्यहरुलाई सूचना जारी गरिएको छ । यसअघि राष्ट्रिय सभा सदस्यहरुलाई पनि सूचना जारी गरिएको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ दफा ३१ ‘क’ को कार्यान्वयन गर्ने प्रायोजनको लागी सूचना जारी गरिएको हो । सार्वजानिक पद धारणा गरेको व्यक्तिले सार्वजानिक पद धारणा गरेको मितिले ६० दिनभित्र आफ्नो सम्पती विवरण सम्बन्धित निकायमा बुझाउनुपर्नेछ भन्ने व्यवस्था गरिएको छ । सोही व्यवस्था कार्यन्वयन गर्नको लागि सचिवालयले सूचना जारी गरेको हो । प्रतिनिधि सभा सदस्यहरुले चैत १२ गते सपथ लिइसकेपछि उहाँहरुले सार्वजानिक पद धाराणा गरेको मानिन्छ । सो मितिबाट ६० दिनभित्र उहाँहरुले संघीय संसद सचिवालयमा सम्पती विवरण खामबन्दी गरी गोप्य रुपमा बुझाउनुपर्छ । उहाँहरुले बुझाउने सम्पती विवरण गोप्य नै रहन्छ, कुनैपनि प्रकारको दुरुपयोग हुँदैन । कानूनले भोलीका दिनमा अदालतको आदेशका कारण खोल्नुपर्दा बाहेक अन्य अवस्थामा खोल्ने कुरा हुँदैन, सुरक्षित र गोप्य रहन्छ ।’
सचिवालयले यसअघि राष्ट्रिय सभा सदस्यहरुलाई पनि सम्पती विवरण बुझाउन सूचना जारी गरेको जनाएको छ ।
प्रकाशित मिति २०८२ चैत १६ गते सोमबार ०३:११




