पोखरा ।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा उल्लेख्य परिवर्तन भएको बताएका छन् ।
एक सार्वजनिक कार्यक्रममा बोल्दै उनले सात सालदेखि हालसम्मको राजनीतिक उतारचढाव र उपलब्धिहरूको सिंहावलोकन गर्दै नयाँ पुस्ताले सोचेजस्तो ‘केही नभएको’ भन्ने तर्कमा सहमत हुन नसकिने धारणा राखेका हुन् ।
उनले आफू कहिले विद्यार्थी, कहिले डाक्टर, किसान र कहिले पार्टीको महामन्त्री हुँदै देशको राष्ट्रपतिसम्म पुग्दा समाजले धेरै फड्को मारिसकेको बताए । महिला सशक्तीकरणको क्षेत्रमा उल्लेखनिय परिवर्तन भएको उनले बताए ।
यद्यपि, शहरको तुलनामा ग्रामीण महिलाहरूको अवस्था अझै सुधारोन्मुख हुनुपर्नेमा उनले जोड दिए ।
पूर्वराष्ट्रपति यादवले भने, ‘म सात–आठ वर्षको हुँदा जनकपुरमा गोली चलेको अलिअलि याद छ । त्यहाँदेखि अहिलेसम्मको इतिहास हेर्दा जनताको अधिकारका लागि धेरै लडाइँहरू भए । ७ साल, ४६ साल र पछिल्ला परिवर्तनहरूको म प्रत्यक्षदर्शी हुँ । तराईमा हाम्रा छोरीबेटीलाई हवेली बाहिर निस्कन दिइँदैनथ्यो, इनार र पोखरीमा पानी लिन जान पनि बन्देज थियो । अहिले हाम्रा छोरीबेटीहरू बेलायत, अमेरिका र अष्ट्रेलियासम्म पुगिसकेका छन् । यो धेरै ठूलो उपलब्धि हो ।’
उनले राष्ट्रका लागि योगदान पु¥याउने अग्रजहरूको सम्मान गर्नुपर्ने र उनीहरूको योगदानलाई लिपिवद्ध गर्नुपर्ने सुझाव दिए ।
प्रकाशित मिति २०८२ चैत १९ गते बिहीबार ०५:००




