पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनको विषयमा पार्टीले अहिले नै कुनै छलफल शुरु नगरेको स्पष्ट पारेका छन् ।
सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले पहिला सभामुखको निर्वाचन प्रक्रिया सम्पन्न भएपछि मात्र उपसभामुखको बारेमा छलफल अगाडि बढ्ने बताए ।
उनले उपसभामुखको चयनमा संवैधानिक व्यवस्था, व्यावहारिक पक्ष र विगतका अभ्यासहरूलाई मध्यनजर गरिने स्पष्ट पारे ।
संविधानले निर्दिष्ट गरेका व्यवस्थाहरू र संसदीय अभ्यासलाई सन्तुलित रूपमा लैजानुपर्नेमा जोड दिँदै उनले कतिपय अवस्थामा उम्मेदवारी नहुने परिस्थिति पनि आउन सक्ने संकेत गरे ।
लामिछानेले अन्य दलहरूसँगको समन्वय र संसदीय प्रक्रियाको चरणवद्ध विकासले नै आगामी बाटो तय गर्ने विश्वास व्यक्त गरे ।
उनले सभामुखले प्रतिपक्षलाई दमन गर्ने वा नागरिकका मुद्दाहरूलाई बन्देज लगाउने खालको व्यवहार गर्न नहुनेमा खबरदारी गरे ।
लामिछानेले सभामुखको भुमिका निष्पक्ष र मर्यादित हुनुपर्नेमा जोड दिए ।
सभामुख पदमा निर्वाचित भइसकेपछि व्यक्ति कुनै विशेष राजनीतिक दलको नभई सिङ्गो सदन र सबै सांसदहरूको साझा अभिभावक हुनुपर्ने उनले बताए ।
प्रकाशित मिति २०८२ चैत २० गते शुक्रबार ०२:२६




