२०८३ साउन २१ गते बिहीबार

काँग्रेसको १५ औँ महाधिवेशन तयारीः ७७ वटै जिल्लामा प्रतिनिधि खटिए, वैशाखभित्र सदस्यता अद्यावधिक गर्नैपर्ने

काँग्रेसको १५ औँ महाधिवेशन तयारीः ७७ वटै जिल्लामा प्रतिनिधि खटिए, वैशाखभित्र सदस्यता अद्यावधिक गर्नैपर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत २१ गते शनिबार ०५:१५

काँग्रेसले महाधिवेशनको तयारीलाई ‘जरा अभियान’ नाम दिएको छ । यस अन्तर्गत चारवटा मुख्य विषयहरू समेटिएका छन् ।  १५ औँ महाधिवेशनको तयारी, सांगठनिक सुदृढीकरण, नागरिकसँग निर्वाचनको समीक्षा र पार्टीलाई सामाजिक गतिविधिमा जोड्ने कुरा यसमा समेटिएका छन् ।

पोखरा ।

नेपाली काँग्रेसले आफ्नो १५ औँ महाधिवेशनको औपचारिक तयारी शुरु गरेको छ ।

पूर्व निर्धारित कार्यतालिकाअनुसार चैत २१ गतेदेखि ७७ वटै जिल्लामा सदस्यता अभियान र सांगठनिक सुदृढीकरणका लागि प्रतिनिधिहरू खटाउँदै कांग्रेसले महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रतिनिधि अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले महाधिवेशनको तयारीसँगै ‘जरा अभियान’ सञ्चालन गरिएको जानकारी दिए ।

उनकाअनुसार ७७ वटै जिल्लामा खटिएका प्रतिनिधिहरूले वैशाख महिनाभर जिल्लामा बसेर सदस्यता वितरण, अद्यावधिक र सांगठनिक अवस्थाको प्रतिवेदन तयार पार्नेछन् ।

महामन्त्री पौडेलले पुराना क्रियाशील सदस्यहरूले वैशाख महिनाभित्र अनिवार्य रूपमा आफ्नो सदस्यता अद्यावधिक गर्नुपर्ने बताए । पार्टीले यसपटक सबै सदस्यहरूलाई ‘काँग्रेस आईडि’ प्रदान गर्ने भएको छ । सदस्यता अद्यावधिक गरेपछि मात्र यो परिचयपत्र प्राप्त हुनेछ ।

महामन्त्री पौडेलकाअनुसार काँग्रेस आईडि नभएका व्यक्तिहरूले १५ औँ महाधिवेशनमा भाग लिन पाउने छैनन् । नयाँ सदस्यका हकमा भने डिजिटल माध्यमबाट सदस्यता प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

उनले भने, ‘वैशाख महिनाभित्र सदस्यता अद्यावधिक भएन भने पुरानो क्रियाशील सदस्यता कायम रहने छैन । सदस्य जुन भूगोल वा वडाको हो, त्यहीँ पुगेर अनिवार्य रूपमा नवीकरण वा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।’

काँग्रेसले महाधिवेशनको तयारीलाई ‘जरा अभियान’ नाम दिएको छ । यस अन्तर्गत चारवटा मुख्य विषयहरू समेटिएका छन् ।  १५ औँ महाधिवेशनको तयारी, सांगठनिक सुदृढीकरण, नागरिकसँग निर्वाचनको समीक्षा र पार्टीलाई सामाजिक गतिविधिमा जोड्ने कुरा यसमा समेटिएका छन् ।

पार्टीले गत निर्वाचनमा व्यहोरेको हारको कारण खोज्न र पार्टीलाई पुनर्जीवित गर्न नागरिक स्तरमा अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

केन्द्रिय सभापतिको नेतृत्वमा राष्ट्रिय स्तरमा बुद्धिजीवी र पेशाकर्मीहरूसँग संवाद गरिनेछ भने जिल्ला तहमा खटिएका प्रतिनिधिहरूले स्थानीय स्तरमा समीक्षा कार्यक्रमहरू सञ्चालन गर्नेछन् ।

पार्टीको संगठनलाई चलायमान बनाउन स्थानीय आवश्यकताअनुसार सामाजिक कार्यहरूमा कांग्रेसलाई जोड्ने नीति लिइएको छ । जिल्लामा खटिएका प्रतिनिधिहरूलाई भ्रातृ संगठनहरूको अवस्था बुझ्न र सांगठनिक प्रतिवेदन बुझाउन समेत निर्देशन दिइएको छ ।

प्रतिनिधिहरूलाई आवश्यक निर्देशिका, कार्यविधि र फारमहरू उपलब्ध गराएर जिल्ला पठाइसकिएको र अब वैशाखभर सदस्यता अद्यावधिक गर्ने काम व्यापक रूपमा अगाडि बढ्ने महामन्त्री पौडेलले बताए ।

प्रकाशित मिति २०८२ चैत २१ गते शनिबार ०५:१५
हजुरको प्रतिक्रिया