२०८३ असोज २४ गते शनिबार

रास्वपा चमत्कारिक रुपमा शक्तिशाली बन्नुको कारण तत्काल खोजी गर्नुपर्ने हुन्छः एमाले सचिव भट्टराई

रास्वपा चमत्कारिक रुपमा शक्तिशाली बन्नुको कारण तत्काल खोजी गर्नुपर्ने हुन्छः एमाले सचिव भट्टराई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत २१ गते शनिबार ०५:१८

दलहरुबीचको सम्वाद तत्काल शुरु गरी राष्ट्रिय एकतालाई कायम गरेर अघि बढ्ने गरी मुलुकमा विदेशनीतिबारे सार्वजनिक बहस गर्नु अति जरुरी रहेको सचिव भट्टराईको भनाई थियो ।

पोखरा ।

नेकपा (एमाले)का सचिव डा. राजन भट्टराईले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शक्तिशाली बन्नुको कारण खोजतलास गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित निर्वाचनको मूल्यांकन तथा परराष्ट्र नीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताएका हुन् ।

परराष्ट्रविद् समेत रहेका सचिव भट्टराईले सो पार्टीले निर्वाचनमा चमत्कारिक रुपमा परिणाम ल्याएको उल्लेख गर्दै त्यसको कारण खोजीको विषय भएको बताए ।

उनले मुलुकमा भूराजनीतिक संवेदनशीलता बढेर गएकाले दलहरुबीच राष्ट्रिय एकता कायम गरेर अघि बढने कुरामा ढिलाई गर्न नहुने पनि स्पष्ट पारे ।

दलहरुबीचको सम्वाद तत्काल शुरु गरी राष्ट्रिय एकतालाई कायम गरेर अघि बढ्ने गरी मुलुकमा विदेशनीतिबारे सार्वजनिक बहस गर्नु अति जरुरी रहेको सचिव भट्टराईको भनाई थियो ।

उनले भने,‘नेपाल भित्र चलखेल हुने सम्भावना छ । हाम्रो भूराजनीतिक सम्वेदनशीलता बढेर जान खोजेको छ । यतिबेला गर्ने के ? यतिबेला सबैभन्दा गर्ने काम के हो भने पहिलो काम भनेको नै राष्ट्रिय एकता कायम गर्ने हो । राष्ट्रिय एकता कायम गर्नका लागि हामी आन्तरिक रुपमा प्रतिष्पर्धा गरौँ, विवाद गरौ । सबै चिज गरौँ । यो संवेदनशील विश्व व्यवस्था आईसकेपछि यस्तो बेलामा हामी राष्ट्रिय एकता कायम गर्नका लागि हामी सबैले पहल लिनु आवश्यक छ । त्यो पहल आन्तरिक सम्वादबाटै अगाडि बढाइनु पर्छ । हाम्रा केही केही मान्यताहरु फरक हुन सक्छन् । हिजो देखि फरक मान्यता बोकि आएका कारण हामी फरक फरक ठाउँमा उभिने स्थिति बन्नसक्छ । किनभने हामी फरक राजनीतिक पृष्ठभुमिका बोलेका फरक राजनीतिक पार्टीहरु पनि छौ । थुप्रै दलहरु छौ । अझ आजको शक्तिशाली दल त धेरै फरक हिसावले आएको छ उ । उसको आउने तरिका नै चमत्कारिक छ । त्यससँग के के जोडिएका छन, त्यो खोजतलासको विषय बाँकि नै छ । त्यसो हुनाले यो पक्षलाई ध्यानमा राखेर राष्ट्रिय एकता, देशशक्तिको भावना जगाउँदै कमसेकम अरु हाम्रा छिमेकी हुन वा अरु अन्तराष्ट्रिय मित्र शक्तिहरुले हामी तुलनात्मक हिसावले सानो तर म सानो भन्दिन किनभने यो जनसंख्याको हिसावले ४२ औ ४३ औ स्थानमा छ । भौगोलिक हिसावले पनि यो संसारको ९२ औ, ९३ औ स्थानमा छ । यो मध्यमस्तरको मुलुक हो । तर छिमेकी ठूला मुलुकहरुका कारण हामी सानो छौ कि भन्ने परेको छ । तर पनि हामी चीन र भारत जस्ता छिमेकीको बीचमा भने साना नै हौ । यस्तो समवेदनशील ठाउँमा रहेको नेपालका विदेश नीतिबारेको छलफललाई सार्वजनिक बहसको विषय व्यापक बनाउँदै लैजानु आवश्यक छ भन्ने मलाई लाग्छ ।’

सचिव भट्टराईले दलहरुबीच आन्तरिक रुपमा प्रतिष्पर्धा भएपनि मुलुकलाई भूराजनीतिक संवेदनशीलताबाट जोगाउनका लागि राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुको विकल्प नभएको पनि उल्लेख गरे ।

प्रकाशित मिति २०८२ चैत २१ गते शनिबार ०५:१८
हजुरको प्रतिक्रिया