पाेखरा ।
मन्त्री पद नपाएपछि गण्डकी प्रदेशका सांसद द्रोर्णकुमार कुँवरले सांसद पदबाटै राजीनामा दिएका छन् । कुँवर नेपाली कांग्रेसका प्रदेशसभा सदस्य हुन्।
गण्डकी प्रदेश सरकारमा आज (बुधबार) मन्त्रिपरिषद् हेरफेर भएसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट नियुक्त ८ मन्त्रीले सपथ लिएका छन् । ८ मन्त्री हेरफेर हुँदा चर्चामा रहेका कुँवर समेटिएनन् ।
बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाएका छन्। उनले आफ्नो राजीनामा वैशाख २ गतेदेखि लागू हुने गरी दिएको उल्लेख गरेका छन् ।
राजीनामा पत्रमा उनले आफूलाई निर्वाचित गराउन विश्वास र मत दिएको मतदाता तथा समर्थकप्रति आभार व्यक्त गरेका छन्। जनताको विश्वासअनुसार काम गर्न नसकेको भन्दै क्षमायाचनासमेत गरेका छन्।
उनले कुनै सार्वजनिक पदमा नरहे पनि जनताप्रतिको सेवा निरन्तर रहने बताएका छन्। आफ्नो कार्यकालमा सहयोग गर्ने दलका नेता, प्रदेशसभा सदस्य, कर्मचारी तथा शुभेच्छुकप्रति पनि धन्यवाद व्यक्त गरेका छन्।
कुँवर नेपाली कांग्रेसका महासमिति सदस्यसमेत हुन्।





