२०८३ साउन २१ गते बिहीबार

सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’

सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख ४ गते शुक्रबार ०४:०४

पोखरा । प्रतिनिधि सभा सभामुख डोलप्रसाद अर्यालले आफू व्यक्तिकेन्द्रित नभई संस्थाको गरिमा उच्च बनाउन केन्द्रित हुने बताएका छन् । संसदीय मामिला पत्रकार समाजका पदाधिकारीहरूसँगको भेटमा उनले आफू संसदजस्तो गरिमामय संस्थाको नेतृत्व...

पोखरा ।

प्रतिनिधि सभा सभामुख डोलप्रसाद अर्यालले आफू व्यक्तिकेन्द्रित नभई संस्थाको गरिमा उच्च बनाउन केन्द्रित हुने बताएका छन् ।

संसदीय मामिला पत्रकार समाजका पदाधिकारीहरूसँगको भेटमा उनले आफू संसदजस्तो गरिमामय संस्थाको नेतृत्व गरिरहेकाले यसको सम्मान र मूल्य–मान्यता जोगाउनु आफ्नो मुख्य जिम्मेवारी रहेको उल्लेख गरे ।

उनले आफ्नो तर्फबाट कुनै गल्ती भएमा तुरुन्तै स्वीकार गर्न र माफी माग्न तयार रहेको बताउँदै आफ्ना कमजोरीहरू बेलैमा औंल्याइदिन पत्रकारहरूलाई अनुरोध गरे ।

सभामुख अर्यालले भने, ‘विगतका सभामुखहरूबाट भएका राम्रा कामहरू म कपी गर्नेछु र ती नजिरहरूलाई अझ सुदृढ बनाउनेछु । तर, यदि कतै त्रुटि वा कमीकमजोरी भएको छ भने त्यसलाई नदोहो¥याउन म सचेत छु । मलाई कसैले प्रहार गर्दा क्षणिक फाइदा होला तर संस्थालाई प्रहार गर्दा समाजलाई ठूलो घाटा हुन्छ । त्यसैले संस्थालाई सुदृढ बनाउने गरी यहाँहरूको आलोचनात्मक साथको अपेक्षा गरेको छु ।’

नेपाली जनताले संसदबाट गरेको अपेक्षाभन्दा अझ बढी परिणाम दिन आफू क्रियाशील रहने उनको भनाइ छ । सभामुख अर्यालले संसद र संसदीय समितिका गतिविधिलाई व्यवस्थित बनाउन सञ्चारकर्मीहरूको भुमिका महत्वपूर्ण हुने बताए ।

संसदको सूचना प्रवाह र प्रश्नोत्तरको शैलीलाई अझ सुसंस्कृत बनाउनुपर्नेमा जोड दिए ।

पछिल्लो समय पत्रकारितामा देखिएको भीड र प्रश्न सोध्ने प्रक्रियाप्रति संकेत गर्दै उनले भने, ‘कहिलेकाहीँ एउटा प्रश्नको उत्तर आउन नपाउँदै अर्को प्रश्न गरिँदा वातावरण इरिटेटिङ बन्न सक्छ । कम्तिमा एकजनाले सोधेको प्रश्नको उत्तर आउन्जेल धैर्य गर्ने संस्कार बसाल्न सके अझ राम्रो हुने थियो ।’

सभामुख अर्यालले नयाँ र पुराना पत्रकारहरूबीचको व्यवस्थापन पत्रकार समाज आफैँले गरिदिए आफूहरूलाई सहजीकरण हुने बताए । संसद भवनको साँगुरो संरचना र प्रवेशमा रहेका कठिनाइहरूबारे अवगत रहेको बताउँदै उनले नयाँ संसद भवनमा सरेपछि यी समस्याहरू हल हुने विश्वास दिलाए ।

उनले पत्रकारको पहुँचलाई लिएर आफू सधैँ उदार रहने र सूचना लुकाउने पक्षमा नरहेको स्पष्ट पारे । सभामुख अर्यालले कानून निर्माण प्रक्रियालाई तिब्र गतिमा अघि बढाउने आफ्नो योजना रहेको बताए ।

विकास, समृद्धि र नागरिकको खुसीका लागि कानुन निर्माणमा हुने ढिलाइले समाजलाई अपूरणीय क्षति पुग्ने उनको ठहर छ ।

‘हामीसँग पाँच वर्ष छ नि भनेर बिस्तारै काम गर्नु भनेको नागरिकले पाउने सेवा ढिलो बनाउनु हो । जति छिटो कानुन बनाउँछौँ, नागरिकले त्यति नै छिटो त्यसको लाभ प्राप्त गर्छन् । त्यसैले म विधि, प्रक्रिया र संविधानलाई अक्षरशः पालना गर्दै जतिसक्दो फास्ट काम गर्ने तयारीमा छु ।’ उनले भने

उनले बजेट अधिवेशनलाई अझ प्रभावकारी बनाउन स्टेकहोल्डरहरूसँग छलफल गरिरहेको जानकारी पनि दिए ।

सभामुखले भने ‘मेरो हुटहुटी भनेको यो पुस्ताले नै परिणाम देख्न पाओस् भन्ने हो । अब परम्परागत शैलीको राजनीति होइन, परिणाममुखी काम गरेर जनताको अनुहारमा खुशी ल्याउनुपर्छ ।’

सभामुख अर्यालले नेपाली समाजमा नेताको पुरानो छवि बदल्न आवश्यक रहेको धारणा राखे । राजनीतिज्ञ भनेपछि एउटा विशेष लुगा लगाउने र विशेष शारीरिक बनावट हुनुपर्ने परम्परागत चिनारीलाई परिवर्तन गर्नुपर्ने उनको तर्क छ ।

‘हामीले चप्पल लगाउने हरेक नागरिकलाई जुत्ता लगाउने बनाउनु छ, साइकल चढ्नेलाई मोटरसाइकल र गाडी चढ्ने बनाउनु छ । देश र जनता दुवै धनी हुनुपर्छ । गिटी कुट्नेले पनि गर्वका साथ मेरो सरकार छ भन्न सकोस् र अर्बपतिले पनि राज्यको सेवा सहजै पाउन सकोस् ।’ उनले भने ।

सभामुख अर्यालले आफू आम नागरिकजस्तै‘फ्यामिलियर’ हुन चाहेको बताउँदै आवश्यकभन्दा बढी ‘सभामुख’ भनेर आफूलाई समाजभन्दा टाढाको पात्र नबनाउन आग्रह गरे ।

अस्पतालमा पहुँचको आधारमा नभइ नागरिकको अधिकारको आधारमा बेड पाइने र विद्यालयमा पहुँचको आधारमा भर्ना हुने प्रथा अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

सभामुख अर्यालले संसदको नयाँ नियमावली मस्यौदामा पत्रकारहरूको सल्लाह र सुझावलाई महत्व दिइने बताए । संसदीय समितिहरूमा पत्रकारहरूको पहुँच र रिपोर्टिङ सहज बनाउने विषयमा उनले गम्भीर रहेको उल्लेख गरे ।

‘हामी लोकतन्त्रमा छौँ, जहाँ वाक स्वतन्त्रता र सूचनाको हक प्रमुख हुन्छ । म त सबै कार्यक्रम लाइभ गराउनुपर्छ भन्ने मान्यताको मान्छे हुँ, त्यसैले सूचना लुकाउने वा लुकाउनुपर्छ भन्ने मेरो उद्देश्य छैन ।’ उनले भने ।

नियमावली मस्यौदा समितिमा पत्रकारहरूको जिज्ञासा र पहुँचबारे उनले उचित व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए । विगतका कयौँ नजिरहरू प्रविधि र नयाँ पुस्ताको अपेक्षाअनुसार सुधार्दै लैजानुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

संसद सचिवालयका सानातिना समस्यादेखि ठूला नीतिगत विषयसम्म पत्रकारहरूसँग सहकार्य गर्दै अघि बढ्ने पनि उनले स्पष्ट पारे ।

प्रकाशित मिति २०८३ वैशाख ४ गते शुक्रबार ०४:०४
हजुरको प्रतिक्रिया