पाेखरा ।
निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले दुई प्रमुख पर्यटकीय गन्तव्य चितवन र पोखरा जोड्ने हवाई सेवा बन्द गरेको छ । यात्रुको संख्या कम भएकाे जनाउँदै बुद्धले विगत १ महिनादेखि भरतपुर–पोखरा उडान रोकेको हो ।
बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतले हाललाई यो सेवा स्थगित गरिएको जानकारी दिए ।
उनका अनुसार जहाजमा यात्रुको संख्या ज्यादै न्यून हुनु, हवाई भाडा बढ्नु र पोखरा–मुग्लिन सडकखण्डको अवस्था सुधार हुनु उडान बन्द गर्नुका मुख्य कारण हुन् । ‘केही समय यात्रु नहुँदा पनि सेवा दिइयो तर सधैँ खाली जहाज उडाउन सकिएन,’ बस्नेतले भने । उनले पोखरा र भरतपुर दुवै पर्यटकीय क्षेत्र भएकाले पर्यटकलाई लक्षित गरी उडान सुरु गरे पनि सोचे जस्तो नतिजा नआएको बताए । नियमित उडान रोकिए पनि पोखरा जाने वा चितवन आउने ठूलो समूह भएमा भने उडान गर्न सकिने बस्नेतले जानकारी दिए ।
चितवन र पोखराका पर्यटन तथा होटल व्यवसायीहरूको विशेष अनुरोधमा बुद्ध एयरले २०७४ भदौ ३० गतेदेखि भरतपुर–पोखरा उडान सुरु गरेको थियो । पछिल्लो ७ वर्षदेखि बुद्धको जहाजले यी दुई सहरबिच सम्पर्क गराउँदै आएको थियो । तर सडक मार्गको स्तरोन्नतिसँगै यात्रुहरूले मोटर यात्रा रोज्न थालेपछि हवाई सेवा संकटमा परेको हो । व्यवसायीको पहलमा सुरु भएको यो सेवा बन्द हुँदा दुई पर्यटकीय सहरबिचको सीधा हवाई सम्पर्क टुटेको छ ।
प्रकाशित मिति २०८३ जेठ ८ गते शुक्रबार ०१:१७




