२०८३ कात्तिक १२ गते बुधबार

रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल

रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ कात्तिक १२ गते बुधबार ०४:१६

सत्तारुढ दलका सांसदहरुले नै सरकारको आलोचना गरेको विषयप्रति उनले सरकारलाई सुझाव दिनु तथा भएका कमजोरी सुधार्न दबाब दिनु सरकार ढाल्ने प्रयासका रुपमा बुझ्न नहुने उनको भनाइ छ ।

काठमाडौँ ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले पार्टीका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित नभएको बताएका छन् ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै सांसदका गतिविधि व्यक्ति विशेषको नियन्त्रणमा नरहेको स्पष्ट पारेका हुन् । प्रत्येक सांसद आ–आफ्नो क्षमता, विवेक र बलबुताका आधारमा अघि बढिरहेको उनको भनाइ छ ।

सत्तारुढ दलका सांसदहरुले नै सरकारको आलोचना गरेको विषयप्रति उनले सरकारलाई सुझाव दिनु तथा भएका कमजोरी सुधार्न दबाब दिनु सरकार ढाल्ने प्रयासका रुपमा बुझ्न नहुने उनको भनाइ छ ।

उनले मुलुकको विकास हेर्ने चाहना राख्ने दलहरुले सरकार ढाल्ने गतिविधिमा लाग्नुभन्दा सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले प्रतिपक्षी दलहरुले तिहार र छठपछि आन्दोलन गरेर सरकार ढाल्ने भन्दै सार्वजनिक रुपमा दिएका अभिव्यक्तिप्रति आपत्ति समेत जनाए ।

सरकार पाँच वर्ष चलाउन जनताले झन्डै दुई तिहाइ मतसहित रास्वपालाई मत दिएको भन्दै कसैले चाहाना राख्दैमा सरकार नढल्ने उनको दाबी छ ।

उनले भने, ‘सरकारलाई सबै कुरा थाहा हुँदैन । सरकारसमक्ष केही कुरा पुर्याउनको लागि सत्तापक्षका सांसदहरुले पनि प्रतिपक्ष जसरी प्रश्तुत हुनुपर्छ । हामी सत्तापक्षका सांसदहरु त्यसैगरी बोलेको तपाईंहरुले देख्नुभएको छ नि ? त्यसकारण कुनै एक जनाको निर्देशनबाट पार्टीका सबैं सांसदहरु लागेका छैनन् । सबै आआफ्नो क्षमाता र बलबुतामा नै अगाडि बढिरहेका छन् । केही नेताहरुले सरकार आफैं फुटेर ढल्छ भन्ने कुरा गरेको पनि सुनिन्छ । यस्तो हुने कुनै सम्भावना छैन । पुराना पुस्ताका नेताहरुभन्दा बढी भोग्नुपर्ने त हामीहरुले छ नि । यो देश बन्यो भने दाईहरुलेभन्दा बढी मैले भोग्ने हो क्या । यदि मुलुकको विकास हेर्ने रहर छ भने हामी सरकार ढाल्न लाग्छौँ त ? सबैलाई झन मिलाएर लैजान्छौँ । गल्ती भएको कुरा सुधारेर लैजान्छौँ । कहिलेकाँही गल्ती भएको कुरा त सरकारले स्वीकारेको छ नि । हामीलाई जनताले पाँच वर्ष ढुक्कले सरकार चलाउ भनेर झन्डै दुई तिहाई मत दिएर पठाएको छ नि । त्यसकारण तिहार, छठपछि आन्दोलन गरेर सरकार ढालिदिन्छौँ भन्ने कुरामा मलाई चाँही विश्वास लाग्दैन । सरकार ढले हामी सत्तामा पुग्नसक्थ्यौँ भनेर उहाँहरुले कल्पना गर्ने कुरा स्वभाविक हो । तर हामीले देश चलाउनको लागि राजनीति गरेका हौँ सांसद र मन्त्री बन्नको लागि मात्र होइन ।’

पार्टीभित्र विमति राख्ने र असन्तुष्ट पक्षलाई समेत समेटेर लैजान आफूहरु प्रतिबद्ध रहेको उनको भनाइ छ ।

प्रकाशित मिति २०८३ कात्तिक १२ गते बुधबार ०४:१६
हजुरको प्रतिक्रिया