२०८३ मंसिर ४ गते बिहीबार

पोखराका चार स्थानमा भव्य छठ पूजाको तयारी

पोखराका चार स्थानमा भव्य छठ पूजाको तयारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ कात्तिक ३० गते आइतबार १२:३५

कास्की । तराई–मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ यस वर्ष पनि पोखरामा भव्यताका साथ मनाइँदै छ । पर्वका लागि पोखराका चार प्रमुख स्थानमा पूजास्थल निर्माण गरी आवश्यक तयारी पूरा गरिएको छ । पोखराको नदीपुरस्थित नारायणस्थान...

कास्की । तराई–मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ यस वर्ष पनि पोखरामा भव्यताका साथ मनाइँदै छ । पर्वका लागि पोखराका चार प्रमुख स्थानमा पूजास्थल निर्माण गरी आवश्यक तयारी पूरा गरिएको छ ।

पोखराको नदीपुरस्थित नारायणस्थान मन्दिर परिसर, बैदामस्थित फेवाताल किनारको केदारेश्वर मन्दिर परिसर, भद्रकालीको माछापोखरी तथा फूलबारी र भलामको बीचमा पर्ने कालीखोलामा छठ पूजाका लागि घाट तयार पारिएको हो । नेपाल–भारत (एनबी) व्यवसायी समितिका अध्यक्ष भुनेश कुमारले चारवटै पूजास्थलको सरसफाइ सकिएको र झिलिमिली बत्ती तथा टेन्ट राखेर व्रतालु र दर्शनार्थीका लागि विशेष प्रबन्ध मिलाइएको जानकारी दिए ।

यस वर्ष पोखरामा १ हजारदेखि १ हजार ५ सय जनासम्म व्रतालुले छठको व्रत बस्ने अनुमान गरिएको छ । अध्यक्ष कुमारका अनुसार पूजाको अवलोकन तथा दर्शन गर्न आउनेहरूसहित करिब १० हजार जनाको सहभागिता रहने अपेक्षा छ । पूजालाई मर्यादित र व्यवस्थित बनाउन चारवटै ठाउँमा छुट्टाछुट्टै समिति गठन गरिएका छन् । ती समितिले व्रतालु र सहभागीबाट स्वेच्छिक सहयोग संकलन गरी व्यवस्थापनको काम गरिरहेका छन् ।

रोजगारी, पेसा र व्यवसायका सिलसिलामा पोखरामा बसोबास गर्दै आएका तराई–मधेस समुदायका नागरिकलाई लक्षित गरी केही वर्षयता यहाँ छठ पूजाको प्रबन्ध गरिँदै आएको छ । ‘छठ पूजा गर्न घर जान नसक्ने र नभ्याउनेका लागि पोखरामै बसेर पूजा गर्ने व्यवस्था गर्दै आएका छौँ । यस वर्ष पनि भव्य रूपमा पर्व मनाउन चार स्थानमा तयारी गरेका छौँ । तराई मधेसी तथा भारतीय नागरिकसहित पछिल्लो समय पहाडी क्षेत्रका व्यक्ति पूजामा सहभागी हुने गरेका छन् । व्रतालुलाई कुनै असुविधा नहोस् भनेर आवश्यक व्यवस्था मिलाएका छौँ,’ अध्यक्ष कुमारले भने ।

सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यो पर्वमा व्रतालुले निराहार उपवास बसी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ यो व्रत बस्ने गरिन्छ । छठ पूजाको अवसरमा घाटहरूलाई केराका बोट, उखु, अदुवा, भोगटे, सुन्तला र अन्य विभिन्न फलफूलले आकर्षक रूपमा सिँगारिन्छ ।

चार दिनसम्म चल्ने छठ पर्वको पहिलो दिन नहाय–खाय र दोस्रो दिन खरना विधि गरिन्छ । पर्वको मुख्य दिन अर्थात् तेस्रो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने चौथो दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ विधिवत् रूपमा समापन हुनेछ ।

प्रकाशित मिति २०८३ कात्तिक ३० गते आइतबार १२:३५
हजुरको प्रतिक्रिया