२०८३ साउन २१ गते बिहीबार

सरकारी विभूषण : पौरखीलाई रित्तो हात, आफन्तलाई मासु भात

सरकारी विभूषण : पौरखीलाई रित्तो हात, आफन्तलाई मासु भात

मन क्षेत्री

@Public 4K Tv

२०७७ असोज ९ गते शुक्रबार ०४:५१

पदक वा विभूषणको सन्दर्भमा सरकारले गर्ने निर्णय विवादमा आएको यो पहिलो पटक भने होइन । सरकारी स्तरबाट वितरण हुने वा विभिन्न शिर्षकका रकम वा पुरस्कार प्राय विवादमै छन् । विवादको केन्द्र सधै नातावाद, कृपावाद र पक्षपात बन्ने गरेको छ । आफ्नो वा आफ्नो दलको समर्थक हुनुलाई पहिलो र अक्सर अन्तिम प्राथमिकतामा राख्नु नै विभूषणको दुर्भाग्य हो । सम्बन्धित विभूषणका लागि उसको योगदान होला नहोला, सम्वन्धित क्षेत्रमा उ भन्दा योग्य कोही छ या छैन भनेर खोज्नेतर्फ भन्दा उ हाम्रो हो कि होइन ? हाम्रो विरोध गरेको छ कि छैन भनेर खोज्ने परिपाटीले विभूषणको असली हकदार अन्यायमा परेको छ ।

विभूषणमा विभेद कहिलेसम्म ?

विभिन्न पेशा, क्षेत्र र कर्ममा निरन्तर श्रम गरेर कर्मको माध्यमबाट चिनिएका एवम् देशमा योगदान गरेका मानिसहरूले पाउनुपर्ने हो विभूषण । तर दूर्भाग्य, नेपालमा उहि राणा र पञ्चायत कालिन प्रवृतिको पुनरावृति भइरहेको छ । सरकार र सरकारको नेतृत्व गर्ने दलका आसेपासे र भाइभारदारमा बाँडने वा भागवण्डा गर्ने प्रबृतिले विभूषणले क्रमस आफ्नो गरिमा र शाख गुमाउँदै गएको छ । एक स्वाभिमानी कर्मयोद्दाका लागि इज्जत भन्दा धेरै बोझ बन्नसक्ने दिशामा छ विभूषण ।

व्यवस्था परिवर्तनका लागि पटक–पटक जिवनको आहूती दिएका नेपालीहरुले अवस्था परिर्वनको अनुभूति गर्न पाएनन् । राज्य संयन्त्रको उपरी ओहोदामा विराजमान तप्का आफ्नै विरासतको पूनरावृतीमै रमाउने क्रम जारी छ । सोच र शैलीमा परिवर्तन चाहेका नेपाली जनता आफैले बुई चढाएका शासकहरुमाथी धारे हात लगाएर आफ्नो नसिबलाई धिक्कार्न अद्यापी विवश छन् ।

सरकारले संविधान दिवसका अवसरमा ५ सय ९४ जनालाई विभूषणको उपाधि दिने निर्णय गरेको छ । सरकारले ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गर्दैछ । हरेक वर्ष संविधान दिवसका दिन प्रदान गरिने सरकारी पुरस्कारको यो सूचीमा त्यस्ता व्यक्ति गुमनाम बनाइए जो देशका लागि पौरख गरिरहेका छन् । पौरखले परिचित छन् । आम मानिसहरुले हिरो मानेका व्यक्तिहरुको सूचि लत्याएर उल्टै सरकारले विभिन्न कालखण्डमा अनेक आरोप र आलोचना व्यहोरेका मानिसहरुको सूचि अगाडी सारेको छ । भलै, त्यो सरकारी सूचिमा केहि नाम सलामयोग्य छन् तर राज्यसंयन्त्रको चाकडी बजाउने अनेक नामहरुको भिडमा ती नामहरु सरकारले आफ्नो कमजोरी छोप्ने आवरणमा प्रयोग गरेको हो भन्न सकिने अवस्था छ ।

पदक वा विभूषणको सन्दर्भमा सरकारले गर्ने निर्णय विवादमा आएको यो पहिलो पटक भने होइन । सरकारी स्तरबाट वितरण हुने वा विभिन्न शिर्षकका रकम वा पुरस्कार प्राय विवादमै छन् । विवादको केन्द्र सधै नातावाद, कृपावाद र पक्षपात बन्ने गरेको छ । आफ्नो वा आफ्नो दलको समर्थक हुनुलाई पहिलो र अक्सर अन्तिम प्राथमिकतामा राख्नु नै विभूषणको दुर्भाग्य हो । सम्बन्धित विभूषणका लागि उसको योगदान होला नहोला, सम्वन्धित क्षेत्रमा उ भन्दा योग्य कोही छ या छैन भनेर खोज्नेतर्फ भन्दा उ हाम्रो हो कि होइन ? हाम्रो विरोध गरेको छ कि छैन भनेर खोज्ने परिपाटीले विभूषणको असली हकदार अन्यायमा परेको छ ।

यो विषयको चर्चा हरेक बर्ष आउँछ । केहि दिन सामाजिक सञ्जाल र पत्रपत्रिकाकामा स्थान पाउँछ र हराउँछ । हरेक वर्ष सरकारले यस्ता केहि योग्य व्यक्तिहरुलाई विस्थापित गर्छ जसले भजन गाउँदैनन मात्र कर्म गरिरहेका हुन्छन ।

गोरखापत्र दैनिकमा एकजना प्राध्यापकले प्रधानमन्त्री ओलीको पक्षमा एउटा लेख लेखे– ‘अतुलनीय नेतृत्व ।’ लेखमा उनले ओलीजस्तो नेतृत्वलाई अन्य कसैसँग तुलना गर्न नमिल्ने बताएका थिए । उनले ओलीको गुणगान गाएकै कारण उनी विभूषित भएका छन् । उनलाई सरकारले ‘सुप्रबल जनसेवा श्री (तृतीय)’ बाट विभूषित गरेको छ । त्यस्तै प्रधानमन्त्री ओलीको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उपचारमा संलग्न रहेका चिकित्सकहरुलाई पनि विभूषित गरेको छ ।

सरकारको बखान गरेकै आधारमा केहीलाई विभूषणको उपाधि थम्याइएको छ । कसैले प्रधानमन्त्रीलाई अतुलनीय नेतृत्वको संज्ञा दियो र त्यो व्यक्ति विभूषणका लागि योग्य भयो । विभूषणका लागि उसले पौरख गर्यो या गरेन त्यसले महत्व राखेन तर सरकार र नेतृत्वको बखान गाएकै आधारमा विभूषणको सूचीमा सूचीकृत गरियो । त्यति मात्रै होइन प्रधानमन्त्री केपी शर्मा ओलीको मृर्गौला फेर्ने डाक्टरसम्म यो उपाधिका लागि योग्य भए । देशका लागि स्वर्ण पदक दिलाउने खेलाडीहरुलाई सरकारको चाकडी गर्नेहरु विस्थापित गर्न सफल भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा देशलाई स्वर्ण पदक दिलाएर सरकारको नाक उचो बनाइदिएका खेलाडीको आज अपमान भएको छ । दक्षिण एसियाली खेलकुदमा घरेलु मैदानमा तिनले जितेको स्वर्ण उचालेको सरकारले तिनलाई एक विभूषणका लागि पनि योग्य ठानेन ।

आम मानिसहरुले हिरो मानेका कुलमान घिसिङ सरकारको त्यो सूचिमा छैनन् । यसो त कार्यकाल थपिने अनेक अडकलबाजीका विच कुलमान आफ्नो चारबर्षे कार्यकाल सकेर विदा भईसकेका छन् । उज्यालो नेपालका अभियन्ता कुलमान सरकार निर्णायक रहेको यो विभूषणका लागि अयोग्य सावित भए ।

चिकित्सा क्षेत्रको सुधार र आम मानिसका छोराछोरीले पनि सजिलोसंग चिकित्सा शिक्षा अध्ययन गर्न पाउन भनेर राज्यका विरुद्ध निरन्तर शान्तिपूर्ण आन्दोलन गरिरहेका डा. गोविन्द केसी पनि आम मानिसहरुको नजरमा राज्यको विभूषणका हकदार हुन । राज्य उनका माग र मुद्धामै हायलकायल बनिरहेको अवस्थामा उनी सिफारिसमा पर्ने त कुरै भएन ।
विभूषणको सरकारी सूचिमा अयोग्य रहेका अर्का हिरो हुन् महाविर पुन । एसियाकै सर्वोत्कृष्ठ ‘म्यागासेसे’ पुरस्कार पाएका पुनका लागि सरकारी विभूषणकोे महत्व रहन्थ्यो वा रहन्नथ्यो त्यो अर्कै कुरा हो । विभूषण थाप्न उनी जान्थे वा जाँदैनथे त्यो पनि अर्कै कुरा हो तर सूचिमै नअटाउनु कर्मले चिनिएको एक कर्मयोद्धामाथि राज्यले गरेको नजरअन्दाज हो । विभेद हो । राष्ट्रिय आविस्कार केन्द्रका लागि सहयोग मागिरहेका महाविरका लागि राज्यले न पर्याप्त लगानी गरेको छ न त सम्मान नै ।

विभूषणको अर्थ हुन्छ–‘कुनै महत्वपूर्ण पौरख देखाएबापत दिइने पदक, तक्मा । विभिन्न क्षेत्रमा आबद्ध भएका मानिसहरुले आफ्नो पौरख देखाए बापत, कलाकौशल प्रदर्शन गरेबापत दिइने इनाम, पुरस्कार हो विभूषण र सहि मानेमा प्रदान हुने पुरस्कारले मानिसको जीवनमा ठूलो महत्व पनि राख्दछ । सम्मानले प्रतिभालाई थप जागरुक बनाउँछ, प्रतिभाको उच्च कदर गर्दछ । सम्मानको गलत अर्थ लगाएर कमसेकम अपमान नगरौं । वास्तविक प्रतिभालाई सरकारी स्तरबाटै प्रोत्साहन गरौँ । पुरस्कार पाएको भनेर खुसीले गदगद हुने वातावरणको सिर्जना गरौँ ।
manndai30@gmail.com

प्रकाशित मिति २०७७ असोज ९ गते शुक्रबार ०४:५१
हजुरको प्रतिक्रिया