पोखरा
पोखरामा सुविधा सम्पन्न अस्पताल नभएका हैनन् । अस्पतालको पहुँचमा भएतापनि पोखरा महानगरपालिका–१३ की बिष्णुदेवी बराल पाठेघरको मुखको क्यान्सर परिक्षणकै लागि भनेर अस्पताल पुगेकी छैनन् । शनिबार उनले वडामा रहेको शहरी स्वास्थ्य केन्द्रमा पुगेर निशुल्क सेवा लिईन । उनको पाठेघरमा समस्या देखिएन् । परिक्षणले उनलाई ढुक्क बनायो । ‘अस्पतालमा टिकट काटेर लाइन बस्न परेन । सजिलै सेवा पाईयो’, उनले भनिन् । वडाले बेलाबखतमा स्वास्थ्य शिविर चलाउनुपर्ने उनको भनाई छ ।
शिविरमा आएकी चुनकाशी घलेले पैसा हुनेहरु अस्पताल जाने भएपनि यो शिविर वडाका विपन्न महिलाका लागि निकै प्रभावकारी भएको बताइन । ‘पैसा हुनेहरु त अस्पताल जान्छन् । नहुनेहरु रोग पालेर बस्छन्’, उनले भनिन्, ‘शिविरले सबैलाई सजिलो बनायो ।’
विष्णु र चुनकाशी जस्तै पोखरा–१३ का चार सय जना महिला वडाले चलाएको महिलाको पाठेघरको मुखको क्यान्सर सम्बन्धि निशुल्क चेकजाँचबाट लाभन्वित भएका छन् । पश्चिमाञ्चल क्षेत्रिय अस्पतालकि नर्सिङ निरिक्षक पुष्पलक्ष्मी महर्जन नेतृत्वको टोलीले यहाँका महिलाको स्वास्थ्य परिक्षण गरेका हुन् ।
छातीको क्यान्सरपछि विश्वमा सबैभन्दा बढी महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गरेका छन् । तर, महिलाहरु रोग लुकाएर बस्छन् । रोगले नगलाएसम्म अस्पताल जादैनन् । लाज र चेतनाको अभावले रोग पालेर बस्न बाध्य छन् शहरिया महिलाहरु पनि ।
चुनावी घोषणापत्र अनुसार शिविर सञ्चालन गरेको वडाध्यक्ष किरण बरालले बताए । पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि वडाबासी महिलामा जनचेतना जगाउन शिविर आयोजना गरेको उनको भनाई छ । ‘धेरै महिलामा यो समस्या देखिन्छ । उहाँहरु लुकाएर बस्नुभएको छ । जनचेतना जगाएर क्यान्सरबाट बचाउन सकिन्छ भनेर शिविर गरेका हौँ’, उनले भने । अब हरेक ६ महिनामा यो शिविर चलाउने उनले बताए ।
सुरुवाती चरणमै पाठेघरको मुखको क्यान्सर लक्षण थाहा भयो भने उपचार संभव र सहज हुन्छ । त्यसैले बेलाबखतमा परिक्षण गरिरहनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
प्रकाशित मिति २०७९ असोज १ गते शनिबार ०८:२२




