पाेखरा । नेपालमा कोरोना भाइरस -कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेकाे संख्याले ५०० काे आँकडा पार गरेकाे छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएपछि मृतककाे संख्याले ५०० काे आँकडा पार गरेकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त तथ्यांकअनुसार काठमाडौं र रुपन्देहीका तीन-तीन जना, सुनसरीका दुई, मोरङ, सप्तरी, कपिलवस्तु र बाँकेका एक-एक जनाको मृत्यु भएको हो । बुधबारकाे नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयले मृतकको संख्या ४९८ भनेको थियाे यद्यपी, यसमा रुपन्देहीका दुई, कपिलवस्तु, सुनसरी र बाँकेका एक-एक जनाको तथ्यांक समावेश गर्न बाँकी रहेकाे थियाे । यो सवै जोड्दा मृतकको संख्या ५०३ पुगेकाे छ ।
सरकारले लकडाउन खुकुलाे बनाएसंगै काेराेना संक्रमितकाे दरसमेत बढेकाे छ । पछिल्लो २४ घण्टामा देशभर १५ सय ५९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । बुधबार देशभर सक्रिय संक्रमितको संख्या १० हजार ८९१ रहेकाे छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ८७ र होम आइसोलेशनमा १० हजार ८०४ रहेको छन ।
हालसम्म कोरोना संक्रमितको कुल संख्या ७७ हजार ८१७ पुगेको छ ।
प्रकाशित मिति २०७७ असोज १५ गते बिहीबार ०७:०३



