पोखरा
टेबल टेनिस खेलमा ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन बनेको छ । पोखरामा बुधबार सम्पन्न खेलमा प्रहरीले ६ स्वर्ण, २ रजत र ४ कास्य पदक हात पार्न सफल भयो । सशस्त्र प्रहरीले १ स्वर्ण, ४ रजत र १ कास्य पदक पाउँदै दोस्रो बनेको छ । वागमती प्रदेशले १ रजत र २ कास्यसहित तेस्रो भयो । आर्मीले २ कास्य, एनआरएनएले २ कास्य, प्रदेश १ ले २ कास्य र गण्डकी प्रदेशले १ कास्य पदक हात पारेका छन् ।
आजै सम्पन्न महिला सिंगल्सको स्वर्ण पदक नवीता श्रेष्ठले हात पारेकी छन् । पदक बिजेता श्रेष्ठले ११–८, ११–६, १२–१४, ११–८, ९–११, ६–११, १३–१५ को ३–४ सेटले एलिना महर्जनलाई पराजित गरेकी हुन् । नेपाल प्रहरीका स्यान्टु श्रेष्ठले एपीएफका रुबिन महर्जनलाई ११–८, ११–७, ११–९, ६–११, ११–६ को ४–१ सेटले पराजित गरेका थिए । श्रेष्ठले स्वर्ण पदकसहित नगद पुरस्कार २५ हजार रुपैंयाँ पाउन सफल भए भने रुबिनले रजतमा चित्त बुझाए । यसै गरी नेपाल प्रहरीका प्रदीप रोका र एपीएफका संयोग कपालीले कास्य पदक हात पारे ।
प्रतियोगितामा सहभागी मधेश प्रदेश, लुम्बिनी, कर्णाली र सुुदूरपश्चिम प्रदेशले भने पदक जित्न सकेनन् । समापन कार्यक्रममा राष्ट्रिय खेलुकद परिषद्का सदस्य राजेश गुरुङ, अखिल नेपाल टेबल टेनिस संघ तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष चतुरानन्दराज वैद्य, अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्य र कोल्मा बहाकोट तमु समाजका अध्यक्ष सुवेदार लालबहादुर गुरुङले पदक तथा पुरस्कार वितरण गरेका थिए ।
प्रकाशित मिति २०७९ कात्तिक २ गते बुधबार ११:५२



