पोखरा
प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा आउने भएका छन् । कास्कीको पोखरासहित गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा भाग लिन देउवा पोखरा आउन लागेका हुन् । सुरक्षा निकायका अनुसार प्रधानमन्त्री देउवा साढे ३ बजे पोखरा रंगशाला आइपुग्ने कार्यक्रम रहेको छ । उनी काठमाडौंबाट हवाइ मार्गहुँदै पोखरा आउनेछन् ।
प्रधानमन्त्री देउवाले प्रतियोगिताको च्याम्पियन टोलीलाई रनिङ शिल्ड प्रदान गर्ने कार्यक्रम रहेको छ । समारोहमा प्रधानमन्त्री देउवासहित युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, प्रदेशका मन्त्रीहरु, तीनवटै सुरक्षा निकायका प्रमुख लगायत विशिष्ट व्यक्तिको सहभागिता रहनेछ ।
यसअघि गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । तर राष्ट्रिय खेलकुदक खेलकहरु भने असोज २३ गतेबाट नै सुरु भएका थिए । समापन समारोहमा पनि मस्कट प्रदर्शन, तीनवटै सुरक्षा निकायबाट संयुक्त ब्यान्ड प्रदर्शन, झाँकीसहित दुई घण्टाको समापन समारोह हुने प्रतियोगिताका समारोह उपसमितिका संयोजक एकेन्द्रबहादुर कुँवरले जानकारी दिए ।
समापन समारोहमा च्याम्पियन टोलीलाई ट्रफी र पुरुष फुटबलका विजेता खेलाडीलाई मेडल प्रदान गरिनेछ । समारोहमा राष्ट्रिय कलाकारबाट गीत तथा नृत्य प्रस्तुत हुनेछ । राष्ट्रिय खेलकुदमा नेपाल आर्मी टिम च्याम्पियन बनेको छ । दशौैं राष्ट्रिय खेलकुद २०८१ मा कर्णाली प्रदेशमा हुने भएको छ ।
प्रकाशित मिति २०७९ कात्तिक ३ गते बिहीबार ०२:२८



