२०८३ कात्तिक ११ गते मंगलबार

पर्यटन जोगाउन ठोस निर्णय नभए आन्दोलन गर्ने होटल संघ पोखराको चेतावनी

पर्यटन जोगाउन ठोस निर्णय नभए आन्दोलन गर्ने होटल संघ पोखराको चेतावनी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ४ गते शुक्रबार ०३:१५

होटल क्षेत्रको अरबौं रुपैंयाँको लगानी र पर्यटन क्षेत्रलाई जोगाउने गरी तत्काल कुनै निर्णय नभए देश भरका होटल व्यवसायी चरणवद्ध आन्दोलनमा उत्रन बाध्य हुने संघले चेतावनी दिएकाे छ ।

बैंक ब्याजदर एक अंक कायम गर्न माग

पोखरा

बैंकहरुले मनोमानी ढंगले ब्याजदर बढाएको भन्दै त्यसलाई एक अंकमा कायम गर्न पोखरा होटल संघले माग गरेको छ । संघले आज पोखरामा पत्रकार सम्मेलन गरी बैंकहरुले मनोमानी ढंगले चर्को ब्याज असुलेको आरोप लगाउँदै कर्जा लिएका व्यवसायी मर्कामा परेको भन्दै एक अंक कायम गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो ।

भूकम्प, नाकाबन्दीपछि कोभिड महामारीले थला परेको पर्यटन व्यवसाय विस्तारै उठ्ने प्रयास गर्दा बैंक तथा वित्तीय संस्थाले वृद्धि गरेको चर्को ब्याजदरले व्यवसायी मारमा परेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । ‘व्यवसाय राम्रो नभएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको किस्ता तिर्न गरेको ताकेताले व्यवसायी पीडित बनेका छन्’, सुवेदीले भने,‘पर्यटन क्षेत्र नै संकटमा धकेलिएको महसुस हामीले गरेका छौं ।’ उनले बैंकको ताकेताले व्यवसायी मानसिक तनावमा समेत भएको बताए ।

संघले अहिलेको अवस्थामा व्यवसायीले कर्जाको साँवा र व्याज तिर्न सक्ने अवस्था नरहेकाले त्यसको दायित्व आउँदो आर्थिक वर्षमा मिलान गर्नेगरी व्यवस्था मिलाइदिन राष्ट्र बैंक, अर्थ मन्त्रालय र नेपाल सरकारसँग अनुरोध गरेको छ ।

पर्यटन क्षेत्र जटिल अवस्थामा रहँदा समेत लगानीको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि सरकारी तहबाट कुनै ठोस कदम नचालिएकोप्रति संघले गुनासो गरेको छ । होटल क्षेत्रको अरबौं रुपैंयाँको लगानी र पर्यटन क्षेत्रलाई जोगाउने गरी तत्काल कुनै निर्णय नभए देश भरका होटल व्यवसायी चरणवद्ध आन्दोलनमा उत्रन बाध्य हुने संघका निवर्तमान अध्यक्ष विकल शेरचनले बताए ।

प्रकाशित मिति २०७९ कात्तिक ४ गते शुक्रबार ०३:१५
हजुरको प्रतिक्रिया