पोखरा
पुस १४ गतेदेखि पोखरामा आहा रारा पोखरा गोल्डकप सुरु हुँदैछ । पोखरा रंगशालामा हुने गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ ।
सार्वजनिक खेल तालिका अनुसार आहा रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब र धरान फुटबल क्लब भिड्नेछन् । यि दुई क्बल १२ बर्षपछि आहा राराको उद्घाटन खेलमा आमनेसामने हुन लागेका हुन् । दशौं संस्करणको आहा गोल्डकपमा उद्घाटनमा मैदान उत्रिएको धरानलाई सहाराले १–० गोल अन्तरले पराजित गर्न सफल भएको थियो । नवौं संस्करणको उदघाटन खेलमा पनि यिनै दुई क्बल भिडेका थिए । त्यतिबेला सहाराले २–१ गोल अन्तरले धरानलाई पाखा लगाएको थियो ।
आहा रारा पोखरा गोल्डकपको दोस्रो खेलमा पुस १५ गते विभागीय टोली नेपाल पुलिस क्लब र चर्च ब्वाईज युनाईटेड भिड्नेछन् । पुस १६ गते सहारा क्लब र धरान फुटबल क्लब बीचको विजेताले सशस्त्र प्रहरी बलसँग अन्तिम चारमा प्रवेश गर्न खेल्नेछ । पुस १७ गते नेपाल पुलिस क्लब र चर्च ब्वाईज बीचको विजेताले मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने खेल तालिकामा उल्लेख छ ।
पुस १८ गते क्वार्टरफाईनल त्रिभुवन आर्मी क्लब र संकटा क्लब बीच हुने छ । अर्को क्र्वाटरफाईनल खेल मनाङ मस्र्याङ्दी क्लबले भुटानिज युथ एससी अमेरिकासँग खेल्ने छ । सेमिफाइनल पुस २० र २१ गते हुनेछ । पुस २३ गते गोल्डकपको फाइनल हुुने । विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसपटक पुरस्कार राशीमा वृद्धि भएको छ । विजेताले पाउने पुरस्कारमा २ लाख रुपैयाँ र उपविजेताले पाउनेमा १ लाख रुपैयाँ वृद्धि गरिएको हो । उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ । २०५८ सालमा क्याराभान गोल्डकपबाट सुरु भएको गोल्डकप २२ औं संस्करणबाट आहा ! रारा पोखरा गोल्डकपबाट सञ्चालन हुन लागेको हो ।
प्रतियाेगिताकाे प्रत्यक्ष प्रशारण गर्ने अधिकार पब्लिक फाेर के टेलिभिजनले लिएकाे छ ।
प्रकाशित मिति २०७९ पुस ८ गते शुक्रबार ०५:२८




