२०८३ असोज २३ गते शुक्रबार

आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि ब्ल्याक बुल्स एफसी र पुलिस भिड्ने

आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि ब्ल्याक बुल्स एफसी र पुलिस भिड्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १ गते बिहीबार ०६:०३

आहा रारामा पहिलो पटक सहभागी भएको ब्ल्याक बुल्स पहिलोपटकमै फाइनल यात्रा तय गरेको हो ।

पोखरा ।

उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी २४औं आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा ५ पटकको विजेता थ्री स्टार क्लबलाई फराकिलो गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको हो ।

ब्ल्याक बुल्सले अब उपाधिका लागि शनिबार नेपाल पुलिस क्लबसँग भिड्नेछ । पुलिसले पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

दोस्रो सेमिफाइनलमा उज्बेकिस्तानको ब्ल्याक बुल्सले थ्री स्टारलाई ४–० को फराकिलो गोलन्तरले पराजित गर्न सफल रह्यो । पहिलो हाफको एक गोल गरेको ब्ल्याक बुल्सले दोस्रो हाफमा थप ३ गोल ग¥यो । खेलको २४औं मिनेटमा ब्ल्याक बुल्सका शाभकात्जोन सात्तोरोभले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ५८औं मिनेटमा असिलबेक ओरिफजोनोभले गोल गर्दै ब्ल्याक बुल्सलाई अग्रता दोब्बर बनाएका थिए । ६३औं मिनेटमा सात्तोरोभले व्यक्तिगत दोस्रो र टोलीको लागि तेस्रो गोल गरे ।

८७औं मिनेटमा सइदजमोल दाभ्लातिनोभले गोल गर्दै ब्ल्याक बुल्सको अग्रता ४ गुणा पुग्यो । त्यसपछि दुवैतर्फ गोल हुन सकेन र ब्ल्याक बुल्स ४–० ले विजयी हुन सफल भयो ।

आहा रारामा पहिलो पटक सहभागी भएको ब्ल्याक बुल्स पहिलोपटकमै फाइनल यात्रा तय गरेको हो । सहारा क्लब पोखराको आयोजनामा भइराखेको प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित मिति २०८१ फागुन १ गते बिहीबार ०६:०३

हजुरको प्रतिक्रिया