पोखरा
मोफसलको प्रतिष्ठित आहारारा पोखरा गोल्ड कप आजदेखि सुरु हुँदैछ । पाेखरा रंगशालास्थित फुटबल मैदानमा दिउँसाे २ बजेदेखि सुरू हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र धरान फुटबल क्लब भिड्दैछन् ।
आहारारा पाेखरा गाेल्डकपमा आयाेजक सहारा र धरानको उद्घाटन खेलमा १२ वर्षपछिको भेट हो । यसअघि दुवै टिम २०६८ सालमा भएकाे दशाैं संस्करणकाे उद्घाटन खेलमा प्रतिस्पर्धा गरेका थिए ।
उक्त खेलमा मैदान आयाेजक सहाराले धरान फुटबल क्बललाई १–० गोल अन्तरले पराजित गरेको थियो । नवौं संस्करणको उद्घाटन खेलमा पनि यिनै दुई क्बल भिडेका थिए । ०६९ सालमा भएकाे उक्त खेलमा सहाराले २–१ गोल अन्तरले धरानलाई पाखा लगाएको थियो
प्रत्यक्ष प्रसारणकाे जिम्मा पब्लिक फाेरकेलाई
सहारा क्लब पोखराको आयोजनामा पोखरा रंशगशालामा हुने गोल्ड कपका सबै खेलहरु पब्लिक फोके टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। गोल्डकप २२ औं संस्करणका खेलहरु प्रत्यक्ष प्रसारण गर्नउ पब्लिक फोके टिभी र सहारा क्लबबीच सम्झौता भएको हाे ।
सम्झौता अनुसार गोल्डकपका सम्पूर्ण खेलहरु पब्लिक टिभी, टिभीको आधिकारिक युट्युब च्यानल र डिजिटल मिडियामा प्रत्यक्ष प्रसारण गर्नेछ । पोखराकै प्रतिष्ठा र खेल पर्यटनसँग जोडिएको प्रतियोगितालाई देशविदेशसम्म पुर्याउन पब्लिक टिभीमार्फत् सहयोग पुग्ने सहाराका अध्यक्ष गुरुङले बताए । आहा राराको प्रतिष्ठा र गरिमालाई अझ उचाइमा पुर्याउनुका साथै गण्डकी प्रदेशलाई आधारभूमि बनाएर पोखराबाट देशैभरि प्रसारण भइरहेको पब्लिक टिभीलाई बिस्तार गर्न यो प्रतियोगिताले सहयोग गर्ने प्रबन्ध निर्देशक क्षेत्रीले विश्वास व्यक्त गरे ।
आहारारा पोखरा गोल्डकप २३ गतेसम्म चल्नेछ । प्रतियोगितामा आयोजक सहारा क्लबसँगै १० समूहले प्रतिस्पर्धा गर्नेछन् । नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी, नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाइज युनियन फुटबल क्लब, धरान फुटबल क्लब र भुटनिज युथ स्पोर्टस् क्लब अमेरिका सहभागी हुँदैछन् । विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसपटक पुरस्कार राशिमा वृद्धि भएको हाे ।
विजेताले पाउने पुरस्कारमा २ लाख रुपैयाँ र उपविजेताले पाउनेमा १ लाख रुपैयाँ वृद्धि गरिएको हो ।
सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्तलाई
सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई प्रदान गरिने भएको छ ।
सहारा क्लब पोखराले प्रदान गर्ने पुरस्कार यस वर्ष तामाङलाई दिने घोषणा गरिएको हो । तामाङ राष्ट्रिय टिमका सेन्ट्रल डिफेन्डर हुन् ।आहारारा पोखरा फुटबल गोल्डकपमा पुरस्कार प्रदान गर्ने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए । पुरस्कारको राशि ५० हजार ५ रुपैयाँ छ । अधिकारीका अनुसार पुरस्कार राशिमा १५ हजार ५ रुपैयाँ वृद्धि गरिएको हो । यसअगाडि ३५ हजार रुपैयाँले पुरस्कृत गरिन्थ्यो ।
सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कारबाट भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन बिस्ट पुरस्कृत भइसकेका छन् ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ताले पनि २५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचले ८ हजार रुपैयाँ, फाइनल खेलको म्यान अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् । फेयर प्ले टिमलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । २०५८ सालमा सुरु भएको क्याराभान गोल्डकपलाई गणना गर्दै २२ औं संस्करणसम्म चलेको छ । क्याराभान गोल्डकपको उपाधि नेपाल पुलिस क्बलले उचालेको थियो । मनाङ मस्र्याङ्दी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो ।
गत वर्ष माघमा भएको २० औं संस्करणको आहारारा गोल्डकपको उपाधि एपिएफले जितेको थियो ।
प्रकाशित मिति २०७९ पुस १४ गते बिहीबार ११:२२




