पोखरा
पाेखरामा जारी २२ औं संस्करणको आहारारा पाेखरा गोल्डकपमा डेब्यु खेलमै चर्च ब्वाइज युनाइटेडले सर्वाधिक विजेता नेपाल पुलिस क्लबलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ । चर्चले नेपाल पुलिसलाई २–१ ले स्तब्ध पारेको हो ।
चर्च ब्वाइजको जितमा नवप्रवेशी खेलाडी अञ्जन विष्ट र अनन्त तामाङ निर्णायक रहे । यसै संस्करणदेखि आहारारा पोखरा गोल्डकपमा डेब्यु गरेको चर्च ब्वाइज क्लब हालैमात्र ए डिभिजन लिगमा उक्लिएको टिम हो ।
उक्त क्लबले केही दिनअघिमात्रै नेपाली राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्टलाई अनुबन्ध गरेको थियाे ।
खेलको पहिलो हाफमा विभागीय टिम नेपाल पुलिस क्लबले अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा प्रतियोगिताबाटै बाहिरिनु प¥यो । खेलको २५ औं मिनेटमा विभागीय टिम नेपाल पुलिस क्लबका रवि शंकर पासवानले गोल गर्दै अग्रता दिलाएका थिए ।
उनले निरकुमार राईको पासलाई सुन्दर फिनिसिङ गर्दै विपक्षी गोलपोस्टमा बल चुमाएका थिए ।
पहिलो हाफमा दबाबमा रहेको चर्च ब्वाइज दोस्रो हाफमा भने खेल सुधारेको थियो । अधिकांश समय नेपाल पुलिसलाई दबाबमा राख्न सफल भयो । पटकपटक पोस्ट प्रहार गरे पनि ७७ औं मिनेटमा मात्रै गोल गर्न सफल भयो ।
खेलको ७७ औं मिनेटमा चर्च ब्वाइजका तर्फबाट अञ्जन विष्टले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनी केही दिनअघिमात्रै मनाङमस्र्याङ्दी छाडेर चर्च ब्वाइज युनाइटेडमा अनुबन्धित भएका थिए ।
खेलको ७६ औं मिनेटमा चर्च ब्वाइजका एरिक विष्टले प्रहार गरेको बल नेपाल पुलिसका गोलरक्षक सञ्जीत श्रेष्ठको हात छुँदै बाहिरियो । तत्पश्चात चर्च ब्वाइजले पाएको कर्नर किक तेज तामाङले प्रहार गरेका थिए ।
तामाङको प्रहार विपक्षी टिमले सुरक्षित गर्न खोजे पनि बल एरिकको नजिक पुगेको थियो । बललाई हेडिङ गर्र्दै उनले बल पुनः विपक्षी पोस्टमा फ्याँकेका थिए । सोही ‘डिफ्लेक्ट’बललाई अञ्जनले प्रहार गर्दै सुन्दर फिनिसिङ दिएका हुन् ।
निर्धारित समयको अन्तिममा नेपाल पुलिसले डिबक्स एरिया नजिकै फ्रिकिक पाएको थियो । बुद्ध लामाले प्रहार गरेको फ्रिकिकको रिबाउन्ड बललाई नीरकुमार राईले क्रस पास दिएका थिए । उनको पासमा भरत शाहले हेमन्त श्रेष्ठले हेडिङमार्फत गोल गरेका थिए ।
तर, सहायक रेफ्री प्रकाश भुजेलले अफसाइड सिग्नल दिएपछि उक्त गोलले मान्यता पाएन ।
खेलको अन्तिम मिनेटमा पाएको अवसर पनि गोल मान्यता नपाएपछि केहीबेर खेलाडी र रेफ्रीबीच भनाभनसमेत भएको थियो । लगत्तै निर्धारित समय सकिएर खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयको पहिलो हाफमै गोल गर्र्दै चर्च ब्वाइजले अग्रता लिएको थियो । अतिरिक्त समयको आठौं मिनेटमा चर्च ब्वाइजले कर्नर पायो । जसको सदुपयोग गर्र्दै चर्चब्वाइजले पुनरागमन अग्रता लिएको थियो ।
चर्च ब्वाइजका तेज तामाङले प्रहार गरेको कर्नर किक अञ्जन विष्टको ‘हेडिङ ब्याक फ्लिप’लाई अनन्त तामाङले प्रहार गर्र्दै विपक्षी गोलपोस्टको जाली चुमाएका थिए ।
सहारा वर्ष खेलाडी घोषित तामाङ पनि हालैमात्र थ्रीस्टार छोडेर चर्चमा अनुबन्धित भएका हुन् ।
बिहीबार भएको उद्घाटन खेलमा धरान फुटबलले क्लबले आयोजक सहारा क्लबलाई १–०ले पराजित गरेको थियो । उक्त हारसँगै आयोजक सहारा समूह चरणबाटै बाहिरिएको छ भने बुढासुब्बा गोल्डकप आयोजना गर्दै आएको धरान क्वार्टरफाइनल प्रवेश गरेको छ ।
०७५ सालमा प्रिक्वार्टरफाइनलबाटै बाहिरिएपछि धरान आहारारा पोखरा गोल्डकपमा सहभागी भएको थिएन । करिब ४ वर्षपछि धरानले आहारारा गोल्डकपमा सुखद पुनरागमन गरेको हो ।
आहारारा गोल्डकपको क्वार्टरफाइनलमा चर्च ब्वाइज क्लबको मच्छिन्द्रसँग भेट हुनेछ । मच्छिन्द्र जारी प्रतियोगितामा बाई पाउँदै सिधै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
प्रकाशित मिति २०७९ पुस १५ गते शुक्रबार ०५:०७




