२०८३ कात्तिक ११ गते मंगलबार

आहा! रारा पोखरा गोल्डकप विशेष

जो २ दशकदेखि खेल मैदानमा निरन्तर गुञ्जिरहेछन्…!

जो २ दशकदेखि खेल मैदानमा निरन्तर गुञ्जिरहेछन्…!

विकास मगर

@Bikashh1997

२०७९ पुस २० गते बुधबार ११:०१

बानियाले खेलबारे थुपै गीत गाए । खेलकुद सम्बन्धी राष्ट्रिय होस् या स्थानीय बानियाले संगीत भरे, आवाज दिए । शब्दलाई पखेटा लगाइदिए र स्वच्छन्द उड्न सिकाए । खेलकुद र संगीतको पनि संयोजन गर्न सकिन्छ भनेर प्रमाणित गरिदिए ।

विनाेद अर्थात् खेलगीतका सदाबहार पायाेनियर

पोखरा
खेल नै जीवन हो जीवन र जगतलाई
सहारा नै खेल बुझौं अभिमतलाई ।
नेपालीको गौरव यही हो पोखरा
सबै अनुहारलाई स्वागत गर्छ साहारा …

प्रत्येक वर्ष पोखरामा गुञ्जिरहन्छ यो गीत । गुञ्जिँदैनमात्रै खेलप्रेमीको मुखमै झुन्डिन्छ । सहारा क्लब भन्नेबित्तिकै नेपालले पोखरा सम्झन्छ । सहारा सम्झनेबित्तिकै मान्छेले आहा रारा सम्झन्छन् । आहारारा सम्झनेहरु यो गीत सम्झन्छन् ।

हो, आहा रारा गोल्ड कपको ‘थिम’ गीत थियो यो । जो लगातार दुई दशक पोखरा रंगशालामा गुञ्जियो । २०५८ मा पहिलो पटक ‘क्याराभान कप’ हुँदै सुरु भएको आहारारा पोखरा गोल्डकप अहिले २२ औं संस्करण जारी छ ।

जतिवटा संस्करण सकिए, त्यति नै संस्करणमा निरन्तर गुञ्जिरहने गीत बन्यो । आहाराराको सदाबहारा यो गीतमा गुञ्जिने गायक हुन्, विनोद बानियाँ । जो यो गीतका गायकमात्रै होइनन्, संगीतकारमेत हुन् ।

०००
यसपल्टदेखि फेरिएको छ, आहारारा गोल्डकपको थिम गीत ।

सहाराले नाम परिमार्जन गर्दै आहारारा पोखरा गोल्डकप बनाएसँगै गीतको पनि फेरिएको छ । नयाँ गीतमा पनि बानियाँ नै जोडिएका छन् भने साथ दिएकी छन्, ममता गुरुङले । नयाँ गीत पनि आरजू विष्ट सल्यानीले नै तयार पारेका हुन् ।

गायक बानियासँग गायिका ममता गुरूङ

‘२ दशकसम्म यो रंगशालामा आउने प्रत्येकले मेरा गीत सुनेका छन् । मलाई चिनून्, नचिनून् तर सबैले मेरो गीत चिनेका छन्, कैयौं पटक दर्शकदीर्घामा बसेर आफ्नै गीत सुनेको छु,’ सम्झन्छन्, ‘यति लामो इतिहास बोकेको गीत यसपालि परिवर्तन गर्नुपर्दा केही सकस पक्कै थियो ।’

तर, उनले जनजिब्रोमा झुन्डिएको पहिलेकै ट्युन मर्मलाई मर्न नदिई नयाँ संगीत भरेका छन् ।

‘पहिलेभन्दा अहिले झन् स्पोर्टी गीत बनेको छ । म सन्तुष्ट नै छु,’ भन्छन्, ‘२० वर्ष अगाडि जसले कोरस गाएर सहयोग गर्नु भएको थियो, अहिले उहाँकै छोरी मुख्य गायिकामा हुनुहुन्छ । यो संयोगले पनि खुुसी दिएको छ ।’

०००

जबजब पोखरामा ठूला र साना खेलकुद प्रतियोगिता हुन्छ । तब त्यहाँ संगीतको कर्णप्रिय धुन लिएर पुग्छन्–गायक विनोद बानिया । खेल र खेल जगतबारे उनले थुप्रै गीत गाइसकेका छन् । जीवन्त संगीत भरिसकेका छन् । खेलसम्बन्धी गीत गाउन लागेको उनको यात्रा २ दशक नाघिसकेको छ ।

मुखमा सुसेली सदाबहार हो, उनको । बाटोका छेउछाउ या एक्लै हुँदा गुन्गुनाइरहन्छन्, गीतका पंक्तिहरु । संगीत उनको सपना हो र जीवनको बाटो देखाउने पथप्रदर्शक पनि । तर, चिया पसल वा कुनै जमघटमा कसैले ‘यो गीत गा’ भन्छ भने उनलाई पटक्कै मन पर्दैन । उनी गीतलाई सम्मान गर्छन् ।

उनी चाहन्छन्, ‘गायन पनि एउटा ध्यान हो । ध्यान कलालाई कसैले यति सस्तो नबनाओस् ।’

बानियाले खेलबारे थुपै गीत गाए । खेलकुद सम्बन्धी राष्ट्रिय होस् या स्थानीय बानियाले संगीत भरे, आवाज दिए । शब्दलाई पखेटा लगाइदिए र स्वच्छन्द उड्न सिकाए । खेलकुद र संगीतको पनि संयोजन गर्न सकिन्छ भनेर प्रमाणित गरिदिए ।

‘सहारा क्लबले आहारारा गोल्डकपको थिम गीत निकाले पछि नै अहिले नेपालका धेरै खेल प्रतियोगिताले ‘थिम सङ’ बजाउन थालेका छन्,’ यो उनलाई लाग्छ ।

२ दशक यो कुनै सानो वर्षमात्रै होइन । त्यतिबेलाका जवान बानिया अहिले जीवनका सुन्दर ४ दशक शानदार बाँचिसके । तर, आफूलाई खेल गीतमा पायोनियर बनाएर चिनाउने यही आहारारा गोल्डकपकै गीत भएको उनी सुनाउँछन् ।

सहारा क्लबका संस्थापक अध्यक्ष वसन्त थकाली, खेलकुद पत्रकार मोहन घलेसहितको टोलीले बानियालाई तत्कालीन रारा कपका लागि गीत गाउन भनेछन् । उनले ‘हुन्छ’ भने । आरजु विष्ट सल्यानीले गीत लेखे, बानियाले संगीत दिए, आफैं गाए । योगिता मोक्तानले साथ दिइन् ।

पहिलो पटक खेलकुद सम्बन्धी गाएको त्यो गीतले सोचेभन्दा राम्रो चर्चा पायो । जीवनको १७ वर्षअगाडि फर्किएर बानिया भन्छन्, ‘सायद एउटा क्लबले खेलकुदकै लागि बनाएको त्यो गीत पहिलो होला । मैले गाउने मौका पाएँ ।’

आहारारा पोखरा गोल्डको ऐतिहासिक थिम गीत बनाउन सहाराका तत्कालीन अध्यक्ष विक्रम थकाली, वीरभद्र आचार्य, केशवबहादुर थापा, सुरज गुरुङ, खेल पत्रकार सुदर्शन रञ्जितलगायतले सहयोग गरेको उनले सम्झिए ।

‘खेलाडी हुँ खेलाडी हुँ
खेलाडी हुँ म राष्ट्रको, कर्म हाम्रो खेल…’

सहाराको रारा गोल्ड कप खेल गीत गाए लगत्तै उनले वसन्त थकालीको अर्को खेल गीत गाए । त्यसपछि उनको खेल गीत गायन ‘करियर’ सर्रर चल्न थाल्यो । त्यसकै अर्को वर्ष उनले भलिबल खेलसम्बन्धी गीत गाए ।

‘भलिबलबारे गाएको गीत त अहिले देशभरि गुञ्जिन्छ । गाउने को हो र लेख्ने को हो धेरैलाई थाहा छैन, तर धेरै ठाउँमा बजेको सुन्छु,’ उनी खुसी पोख्छन्, ‘मान्छेले नचिनुन् तर म गुञ्जिरहेछु, मान्छेका ओठमा झुन्डिएको छु ।’

गीतको बोल थियो, ‘लौ आयो भलिबल….’

विनोदले छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको थिम गीत गाए । त्यतिबेला प्रधानमन्त्री बाबुराम भट्टराई थिए र प्रतियोगिता सुदूरपश्चिममा भएको थियो । देशभरबाट बानियाको गीत छानिएको थियो । आरजु विष्ट सल्यानीले नै लेखेको ‘हाम्रो जीवन खेलकुद, हामी स्वाभिमानी …’ गीत पनि चर्चामै थियो ।

रारा गोल्ड कपलाई आहाले पनि स्पोन्सर गरेपछि आहा–रारा गोल्डकप भयो । पहिले गाएको रारा गोल्डकपको गीत अब परिवर्तन गर्नुप¥यो । गीत परिवर्तनसँग एउटा दुखद् संस्मरण छ, बानियासँग ।

आहा रारा गोल्डकपको थिम गीत पहिले योगिता मोक्तानले गाएकी थिइन् । गीत गाएको २ हप्तामै उनले आत्महत्या गरिन् ।

‘उनले आत्महत्या गरिन् । उनको आवाज २ वर्षसम्म गुञ्जियो,’ बानिया भन्छन्, ‘पछि सहाराले दोबिल्लामा अनाथाश्रम एकेडेमी खोलिसकेपछि शब्द थप्नुपर्ने भयो । त्यसपछि अजुदा थापाले गाइन् ।’

उनले एन्फा कास्कीले आयोजना गरेको मनकामना कपको पनि थिम गीत गाएका छन् । गीतकार मन क्षेत्रीले लेखेको गीतमा विनोदले आवाजसँगै संगीत भरेका थिए ।

बानियालाई संगीतमा मात्रै होइन, खेलकुदमा पनि ‘अचम्मै’ रुचि छ । कहिले उनी फुटबल खेलिरहेका भटिन्छन् । कहिले उनी फुटसलको पुरस्कार थाप्दै गरेको फोटोसहित मिडियामा छाउँछन् । फुटबल उनको प्रिय हो ।

विनोद भन्छन्, ‘संगीतमा नआएको भए कुनै क्लबको तर्फबाट खुट्टामा फुटबल नचाउँदै हुन्थें ।’

खेलकुदमा संगीत भएमा त्यसले अझै ऊर्जा र रौनक थप्ने उनको बुझाइ छ ।

बाल्यकालमा तबलामा रुचि राख्थे, बानिया । फलामे ढोका (एसएलसी) पार गरेर तबला सिक्न संगीतकार रामभक्त जोजिजु कहाँ पुगे । त्यहाँ पुगेपछि जोजिजुले नै बाटो देखाइदिए, ‘तिमी बाजामा होइन, भोकलमा राम्रो छौ । त्यसैमा राम्रो गर्न सक्छौ ।’

त्यसपछि उनको बाटो मोडियो ।

‘म जहिल्यै कक्षाको अन्तिम बेन्चमा बस्थें । अन्तिम बेन्चका पुराना काठका बेन्च बजाउन मलाई खुब आनन्द लाग्थ्यो,’ बानिया संगीत जीवनको सुरुआती समयमा पुग्छन् र सुनाउँछन्, ‘भात पकाउँदा मसलाका डिब्बा बजाउँथें । काठका बिजुली पोल बजाउँथें । पछि मात्रै थाहा पाएँ, मलाई भगवानले के बन्न पठाएका रहेछन् ।’

खेलकुदबारे गीतबाहेक पनि बानियाले पप, गजल र पाश्र्वमा पनि आवाज भरेका छन् । कयौं सम्मान पाइसकेका छन् । अहिलेसम्म ३ वटा गीति एल्बम निकालिसकेका छन् ।

रसिक शैलीका बानिया खुल्ला हृदयका पनि छन् ।

उनी कतिबेला ‘दिल बस्यो रौसीमा..’ त कहिले ‘कस्तो मान्छेसँग तिम्रो रात बित्दै होला…’ मा सुनिन्छन् । उनी ‘तिमी हाँसिरहे’ गीतमा युवा ओठ–ओठमा गुञ्जिछन् । कहिले एकल महिलालाई बाँच्न हिम्मत दिँदै ‘हाँस्न सिक पार्वती’ गीतमा सुनिन्छन् ।

बानिया संगीतका ‘मास्टर’ पनि हुन् । पोखराको सैनिक आवसीय विद्यालयमा संगीतका सारेगम सिकाउन लागेको पनि थुप्रै वर्ष भइसकेको छ । तर आफैंलाई अझै सानो विद्यार्थी मान्छन् ।

‘मलाई सिकाउने गुरुले पनि अझै सिक्दै हुनुहुन्छ । मैले विद्यार्थीलाई संगीत सिकाइरहँदा पनि सिकिरहेको हुन्छु,’ बानियाँ भन्छन्, ‘वास्तवमा म पनि एउटा उनीहरुकै एउटा विद्यार्थी हो ।’

प्रकाशित मिति २०७९ पुस २० गते बुधबार ११:०१
हजुरको प्रतिक्रिया