२०८३ साउन २१ गते बिहीबार

आहारारा पोखरा गोल्डकप आजदेखि

आहारारा पोखरा गोल्डकप आजदेखि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ ९ गते मंगलबार ०९:४०

कुल १२ ‘टिम’ को सहभागिता रहेको यस संस्करणको पहिलो दिन आज आयोजक सहारा क्लब पोखरा र थ्री स्टार क्लब भिड्दै छन् ।

उद्घाटन खेलमा आयोजक सहारासँग थ्रीस्टार भिड्ने

पोखरा ।

२३औँ संस्करणको आहारारा पोखरा गोल्ड कप आजदेखि सुरु हुँदैछ ।

सहारा क्लब पोखराको आयोजनामा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लब, विभागीय टिमहरू, सुपर लीगका टिम, विदेशी टिम, मोफसलका टिमसहित आयोजक सहारा क्लबकै टिमले पनि प्रतिस्पर्धा गर्दै छन् ।

क्लबले सार्वजनिक गरेको ‘म्याच टाई सिट’ अनुसार हरेक दिनका खेलहरू दिउसो दुई बजेबाट सुरु हुनेछन् भने ‘फाइनल’ खेल भने माघ २० गते दिउसो एक बजे खेलाइने छ ।

कुल १२ ‘टिम’ को सहभागिता रहेको यस संस्करणको पहिलो दिन आज आयोजक सहारा क्लब पोखरा र थ्री स्टार क्लब भिड्दै छन् । यसबाट विजेता बनेको टोलीले माघ १३ गते पारो फुटबल क्लब भुटानसँग भिड्ने छ ।

माघ १० मा राइजिङ स्टार फुटबल क्लब र विभागीय त्रिभुवन आर्मी क्लबबिच खेल हुने छ। यी दुईबिचको विजेताले माघ १४ गते संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

माघ ११ मा मच्छिन्द्र क्लब र जाउलाखेल यूथ क्लबीच प्रतिस्पर्धा हुने छ । यसबाट विजेता बनेको समूहले माघ १५ मा मनाङ मर्स्याङ्दी क्लबसँग भिड्नुपर्ने छ। माघ १२ मा विभागीय नेपाल प्रहरीको नेपाल पुलिस क्लब र अर्को विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबबिच प्रतिस्पर्धा हुने छ । यो खेलबाट विजेता बन्ने टोलीले माघ १६ मा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग भिड्नुपर्ने छ ।

भुटानको पारो फुटबल क्लब, आयोजक सहारा क्लब पोखरा र थ्री स्टार फुटबल क्लबमध्येको एक टोलीले मच्छिन्द्र क्लब, जाउलाखेल यूथ फुटबल क्लब र मनाङ मर्स्याङ्दी टोलीमध्येबाट आएको एक टोलीसँग माघ १७ गते सेमिफाइनलमा प्रतिस्पर्धा गर्नुपर्ने छ । यस्तै अर्को समूहमा संकटा क्लब, राइजिङ स्टार फुटबल क्लबमध्येको एक टोलीले नेपाल पुलिस क्लब, एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेड फुटबल क्लबमध्येबाट आएको एक टोलीसँग माघ १८ मा प्रतिस्पर्धा गर्ने छन् ।

आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा २८ लाख रुपैयाँ भन्दा बढी रकम पुरस्कारका लागि मात्रै खर्च हुने छ । प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख एक हजार रुपैयाँ र दोस्रो हुने टोलीले छ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । सहभागी टोलीले हरेक खेलमा प्रोत्साहन रकम पाउने सहारा क्लबका अध्यक्ष केशवराज बरालले बताए ।

प्रि– क्वाटर खेल्ने दुवै टोलीले २० हजार, क्वाटरफाइनल खेल्ने टोलीले ३० हजार तथा सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसरी सबै पुरस्कारका लागि २८ लाख ३२ हजार पाँच सय ५५ रुपैयाँ खर्च हुने छ ।

प्रकाशित मिति २०८० माघ ९ गते मंगलबार ०९:४०
हजुरको प्रतिक्रिया