पोखरा
पोखरामा जारी २३ औं आहारारा गोल्डकपको अन्तिम क्वार्टरफाइनल खेलमा एपीएफलाई हराउँदै नेपाल पुलिस क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ ।
पोखरा रंगशालामा भएको खेलमा नेपाल पुलिसले एपीएफलाई २–० ले पराजित गरेको हो ।
नेपाल पुलिसको जितका लागि दुवै गोल मनबहादुर परियारले गरे ।
उनले खेलको १९ औं र ७१ औं मिनेटमा गोल गरेका हुन् । उनले दुवै गोल हेडिङमार्फत गरे ।
खेलको १९ औं मिनेटमा प्रताप गुरुङले हानेको फ्रिकिकलाई पेनाल्टी बक्सबाट ग्रहण गर्दै उनले हेडरमार्फत जाली चुमाएका हुन् ।
खेलको ७१ औं मिनेटमा पनि उनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।
उनले पेनाल्टी बक्स एरियामा आएको क्रस बललाई हेडमार्फत गोलको दिशा दिएका हुन् ।
नेपाल पुलिसले अब क्वार्टरफाइनलमा माघ १६ गते चर्च ब्वाइजसँग सेमिफाइनल प्रवेशका लागि स्पर्धा गर्नेछ ।
पहिलो हाफमै १–० ले पछि परेको एपीएफ दोस्रो हाफमा सम्हालेर मैदान प्रवेश गरेको थियो ।
आक्रामक रुपमा प्रस्तुत भएको एपीएफ दोस्रो हाफको अधिकांश समय विपक्षी टिमलाई दबाबमा राखेको थियो ।
तर, पाएको अवसरलाई गोलमा परिणत गर्न नसक्दा हार व्यहोर्न पुग्यो ।
आहाराराको २३ औं संस्करणसम्म आइपुग्दा दुवै टिमले दोस्रो पटक सँगै मैदान उत्रिएका थिए ।
यसअघि २०६४ मा भएको छैटौं आहा गोल्डकपको फाइनलमा दुवै टिम पुगेका थिए । त्यतिबेला पनि नेपाल पुलिसले एपीएफलाई २–० ले पराजित गर्दै उपाधि जितेको थियो ।
नेपाल पुलिस क्लब आहारारा पोखराको अनुभवी र सर्वाधिक विजेता टिम पनि हो ।
पुलिसले हालसम्म ६ पटक आहारारा पोखरा गोल्डकपको उपाधि जितेको छ भने ५ पटक उपविजेता बनेको छ । नेपाल पुलिस लगातार ३ पटक उपाधि जितेर ह्याट्रिक गर्ने टिम पनि हो ।
२०५८ सालमा भएको आहाराराको पहिलो संस्करण ‘क्याराभान कप’बाटै विजयी सुरुआत गरेको थियो ।
क्याराभान कपमा पुलिसले मनाङ मर्स्याङ्दीलाई फाइनलमा २–१ ले पराजित गरेको थियो ।
त्यसयता, विभागीय टोली नेपाल पुलिसले ०५८, ०५९, ०६४, ०६५, ०६६ र ०७४ सालको आहाराराको उपाधि जितिसकेको छ ।
त्यसबाहेक आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणसम्म आइपुग्दा नेपाल पुलिस ५ पटक फाइनल पुगेर पनि पराजित बनेको छ ।
नेपाल पुलिस ०६०, ०६१, ०६२ र ०७६ मा फाइनलमा पुगेर पनि हार व्यहोरेको थियो ।
अघिल्लो संस्करणको आहारारा पोखरा गोल्डकपमा पुलिस डेब्यु टोली चर्चब्वाइजसँग प्रिक्वार्टरमै पराजित हुन पुग्यो ।
आहारारामा नवप्रवेशी टिम चर्चब्वाइजले सर्वाधिक उपाधि विजेता पुलिसलाई २–१ ले स्तब्ध पारेको थियो ।
यसपटक क्वार्टरफाइनलमा पनि नेपाल पुलिसले चर्च ब्वाइजकै सामना गर्नेछ ।
यता, अर्को विभागीय टिम एपीएफले २०६२ को आहा गोल्डकपदेखि सहभागी हुन थालेको हो ।
२ पटक फाइनल पुगेको एपीएफले एकपटकमात्रै उपाधि चुमेको छ ।
एपीएफले पहिलो पटक २०७८ मा भएको २० औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको थियो ।
उक्त संस्करणको फाइनलमा मनाङमर्स्र्याङ्दीलाई हराएको थियो ।
निर्धारित समय २–२ ले बराबरीमा टुंगिएपछि खेल ट्राइब्रेकरमा गएको थियो ।
ट्राइब्रेकरमा आर्मीलाई ५–४ गोलअन्तरले हराउँदै एपीएफले पहिलो पटक उपाधि जितेको थियो ।
यसअघि प्रिक्वाटर्रफाइनलबाट पहिलो खेलमा आयोजक सहारालाई २–१ ले हराउँदै थ्रीस्टार, दोस्रो खेलमा राइजिङ स्टारलाई १–० ले हराउँदै त्रिभुवन आर्मी र मछिन्द्रलाई १–० ले हराउँदै जावलाखेल अन्तिम ८ मा प्रवेश गरिसकेका छन् ।
भोलिबाट क्वार्टरफाइनल खेल सुरु हुनेछन् ।
क्वार्टरफाइनलअन्तर्गत पहिलो खेल आमन्त्रित क्लब भुटानको पारो एफसी र थ्रीस्टारबीच हुनेछ ।
प्रकाशित मिति २०८० माघ १२ गते शुक्रबार ०५:०७




