पोखरा ।
आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।
खेल पोखरा रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ । आर्मी क्लब ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै फाइनलमा पुगेको हो । थ्रीस्टारले जावलाखेल युथ क्लबलाई १–० ले पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरेको हो ।
थ्रीस्टार आहा राराको पाँचपटकको विजेता हो भने पाँचौँपटक फाइनल पुगेको आर्मीले अहिलेसम्म आहा रारा गोल्डकपको उपाधि जित्न सकेको छैन । आर्मी पहिलो पटक उपाधि जित्ने दाउमा छ भने थ्रीस्टार उपाधि संख्या ६ पु¥याउने लक्ष्यमा छ ।
फाइनल खेल अघि शुक्रबार भएको प्रिम्याच कन्फ्रेन्समा आर्मीका प्रशिक्षक मेघराज केसी आफ्नो टीमले ४, ५ महिनादेखि निरन्तर तालिम गरेर आएकोले सहज जित हात पार्ने दावी गरे ।
त्यस्तै, थ्रीस्टारका प्रशिक्षक विक्रम लामाले फाइनलका लागि आफूहरु तयार रहेको बताए । उनले आफूले पाएको अवसर गुम्न नदिने बताए ।
प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सहारा क्लब पोखराको आयोजनामा जारी आहारारा पोखरा गोल्डकपको यो २३औँ संस्करण हो ।
प्रकाशित मिति २०८० माघ २० गते शनिबार ०९:२७




