२०८३ साउन २१ गते बिहीबार

घरेलु हतियारले आक्रमण गरी धनुषामा एकको हत्या

घरेलु हतियारले आक्रमण गरी धनुषामा एकको हत्या

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १६ गते शुक्रबार ११:३७

बिहीबार राति साढे ८ बजेको समयमा १० जनाको समूहले बञ्चरो, खुकुरीसहित प्रभुमाथि आक्रमण गरेका हुन् ।

धनुषा

 

धनुषामा घरेलु हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । घटनामा ४ जना घाइते भएको प्रहरीले बताएको छ । मिथिला विहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको हत्या भएको हो ।

 

यादवका छोरा अशोकका अनुसार स्थानीय सुरज यादव परिवारको समूहले घरमै आएर आक्रमण गरेपछि उनकाे मृत्यु भएको हो । बिहीबार राति साढे ८ बजेको समयमा १० जनाको समूहले बञ्चरो, खुकुरीसहित प्रभुमाथि आक्रमण गरेका हुन् ।

 

घटनामा प्रभुकी श्रीमती महाजनी देवी यादव, जेठो छोरा जगरनाथ यादव, माहिलो छोरा सन्तोष यादव र कान्छो आशोक यादव घाइते भएको प्रहरीको भनाइ छ । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुई समूहको विवाद हुँदा प्रभुको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ ।

 

 

प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा हत्या देखिएकोले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । मृतकको शव पोस्टमार्टमको अस्पतालमा राखिएको छ ।

 

दुई महिना अघि सुरजका बाख्राले प्रभुको बाली खाएको विषयलाई लिएर विवाद भएको र गाउँलेहरुको भेलामा प्रभुसँग सुरजले माफ मागेका थिए । सोही विषयलाई लिएर प्रभुमाथि आक्रमण भएको हुनसक्ने स्थानीयको अनुमान छ ।

 

प्रकाशित मिति २०७९ मंसिर १६ गते शुक्रबार ११:३७
हजुरको प्रतिक्रिया