पोखरा
टाउकोमा टोपी, खुट्टामा गम्बुुट, हातमा पन्जालगाएर ५० बढी मजदुर दैनिक पोखरा–१४ बाच्छेबुडुवाको ल्याण्डफिल साइटमा पुग्छन् । फोहोरको डंगुरमा गिद्धहरु आहारा खोज्दै हुन्छन् भने मजदुरहरु नकुहिने फोहोर ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउनका लागि अवरोध बनिरहेको ल्याण्डफिल साइट छिट्टै स्थानान्तरण गरिदैँछ । स्थानान्तरण सँगै ल्याण्डफिलमा साइटको फोहोरमा निर्भर रहेका मजदर भने चिन्तित छन् । बाध्यताले फोहोर छुट्टयाउने काम गर्न पुगेका अधिकांश मजदुर महिला छन् ।

रेखा बुढा मगर
फोहोरको डंगुर बीच भेटिइन् रेखा बुढा मगर । उनी पोख्रेलीले फ्याँकेका फोहोरबाट नकुहिने फोहोरलाई छुट्याँउदै थिइन् । फोहोर छुट्याएपछि दिनको झन्डै ४ सय रुपैयाँ हात पर्छ । यहि पैसाले उनलाई आफ्ना चार बच्चालार्ई खुवाउनु छ । रेखा तीन वर्ष अघि रोल्पाबाट पोखरा आईन् । आफ्ना चार बच्चालाई पढाउनका लागि गाउँबाट शहर झरिन् । कामका लागि महिनौं भौतारिएपछि बल्ल ल्याण्डफिल साइटमा काम भेटिन्, फोहोरको डंगुरमा बसेर प्लास्टिक छुट्टयाउने । उनी ल्याण्डफिल साइट नजिकै आफ्नो बच्चा लिएर बस्दै आएकी छिन् । ल्याण्डफिल्ड अन्यत्र सरे, उनी फेरि गाउँ नै फर्किने सुरमा छिन् ।
अहिले पोखरा महानगरभित्र दैनिक २ सय टनभन्दा बढी फोहोर संकलन हुन्छ । फोहोर संकलनका लागि पोखराको सडकमा २७ वटा गाडी गुड्छन् । ती फोहोरबाट नकुहिने फोहोरको व्यवस्थापनको टेन्डर विश्वास कन्स्ट्रक्शनले लिएको छ । कन्स्ट्रक्शनका प्रोपाइटर सुजन गुरुङका अनुसार दैनिक अहिले १२ सय किलो प्लास्टिक ल्याण्डफिलबाट निकालिन्छ । ल्याण्डफिलमा काम गर्ने मजदुरबाट प्लास्टिक प्रतिकेजी ११ रुपैयाँको दरले किनिन्छ । दैनिक ज्यालादारीमा काम गरिरहेका उनीहरुले विहानबाट बेलुकीसम्म फोहोर छुट्याउने काम गर्छन् । दिनको ४ सयसम्म आम्दानी हुने गरेको मजदुर बताउँछन् ।
म्याग्दीकी गिता गोतामेले ल्याण्डफिलमा काम गरेको केही महिना मात्र भएको छ । २८ वर्ष पुगेकी उनले दुई बच्चा एक्लैले हेरेकी छिन् । श्रीमान्ले छाडेर गएपछि कामको खोजीमा ल्याण्डफिल पुगेकी उनलाई फोहारमा काम गर्ने बानी परेको छ । उनी भन्छिन्, ‘पढाईलेखाइ भइदिए राम्रो काम गर्ने थिए । पढाइ छैन अब अरु के गर्ने ?’ । उनलाई ल्याण्डफिल यहाँ बन्द भए के गर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।
पृथ्वीचोककी ३२ वर्षकी मिना परियार ल्याण्डफिलमा काम गर्न आएको तीन वर्ष भइसक्यो । उनका तीन बच्चा स्कुल पढ्दै छन् । श्रीमान्ले छाडेपछि एक्लै आफ्नो बच्चाको लालनपालन गर्दै आएकी छन् । दैनिक ३ सय देखि ४ सय कमाउने उनलाई छाक टार्न धौधौ छ । बिरामी पर्दा झन् गाह्रो हुने उनी बताउँछिन् । उनले भनिन््, ‘फोहोरको काम गर्दा बिरामी भइन्छ, काम गाह्रो छ तर के गर्नु अरु काम पाइदैँन ।’
आफूले नपढेपनि बच्चाले राम्रो पढोस् भन्ने सोच यहाँ काम गर्ने आमाहरुको छ । त्यसैले नै हरेक दिन फोहोरको डंगुरमा हात हालेर मेहनतले काम गर्छन् । शोभा गुरुङलाई सुरुको एक हप्ता फोहोर छुन घिन लाग्यो । बाध्यताले काम गर्न पुगेकी उनले काम गरेको अहिले ९ महिना भइसक्यो । अहिले उनलाई फोहोरको गन्ध गनाउँदैन, फोहोर छुन घिन लाग्दैन । आफ्ना तीन बच्चालाई यहि कामबाट उनले हुर्काएकी छिन् । ‘बच्चाले पढोस् भन्ने छ हाम्रो मनमा त, उनीहरुले यस्तो काम गर्न नपरोस् ’ उनले भनिन् ।
फोेहोर छुट्याउने कामदारको स्वास्थ्य समस्या पनि उस्तै छ । फोहोर छुट्याँउदा चोटपटक पनि लाग्ने, मेडिकलबाट आएका फोहोरले नङहरुमा संक्रमण हुने पनि गरेको छ । तर उनीहरुको स्वास्थ्यबारे अरुको ध्यान जान सकेको छैन । मजदुर मध्येका एक अर्जुन सुनारले फोहोरमा काम गर्दा स्वास्थ्यमा असर पर्ने थाहा हुँदा पनि बाध्यताले काम गर्न आएको बताए ।
ल्याण्डफिल साइट स्थानान्तरणले त्यहाँ ज्यालामजदुरीमा गुजारा गर्ने मजदुरहरु भने अहिले चिन्तित र अन्यौलमा छन् ।





