पोखरा
पोखरा महानगरले मुख्य सडकमा पार्किङ गरेवापत शुल्क उठाउन गरेको सम्झौता २ दिनअघि अर्थात् मंसिर २७ गते नै सकिइसकेको छ । तर, म्याद सकिँदासमेत ठेकेदार कम्पनीले शुल्क उठाउन छोडेका छैनन् ।
महानगरले पोखराका विभिन्न १५ वटा मुख्य सडक क्षेत्रमा २ वर्षे सम्झौता गरेको थियो । फेवा–सावित्री जेभीसँग महानगरले २ वर्षका लागि ३ करोड १६ लाख ७० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
म्याद सकिए पनि किन सडकमा शुल्क उठाउन छोडिएको छैन त ? महानगरको जवाफ छ, चार महिना म्याद थप गरिएको छ । तर, म्याद थप भने ७ महिना अगाडि अर्थात् बैशाखमै निवर्तमान मेयर मानबहादुर जिसीको पालामा गरेको खुलेको छ ।

महानगरले ०७९ बैशाख २२ गते नै ठेकेदार कम्पनीको समय सकिएपनि थप चार महिना पार्किङ शुल्क उठाउने गरी म्याद थप गरेको पाइएको हो । अब ठेकेदार कम्पनीले चैत २७ गतेसम्म सडक पार्किङ शुल्क उठाउन पाउनेछन् ।
म्याद थपिएको सम्झौता पत्रअनुसार अब फेवा, सावित्री जेभीले चैत मसान्तसम्म पार्किङ शुल्क उठाउन पाउनेछन् । म्याद थपको कारण भने विश्वव्यापी महामारीका रुपमा फैलिएको कोराना महामारीलाई देखाइएको छ ।
महानगरका अनुसार राजश्व परामर्श समितिकै सिफारिसअनुसार ठेकेदार कम्पनीको म्याद थप गरिएको हो । राजश्व परामर्श समितिले ०७८ माघ ६ गते नै ठेकेदार कम्पनीसँग म्याद थप्न सिफारिस गरेको महानगरको भनाइ छ ।
पोखरा महानगरले सडक पार्किङ शुल्क उठाउन जेभीसँग ०७७ मंसिर १४ गते सम्झौता गरेको थियो । महानगरले जेभीसँग २ वर्षका लागि ३ करोड १६ लाख ७० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । जसअनुसार प्रत्येक किस्तामा महानगरले ६३ लाख ३४ हजार रुपैयाँ पाउने उल्लेख छ ।
महानगर प्रवक्ता तथा पोखरा महानगर २५ का वडाध्यक्ष मोति तिमिल्सिना अघिल्लै सरकारले चैतसम्म म्याद थपेकाले अहिले त्यसैलाई निरन्तरता दिइने बताए । ‘मेयर सा’बले यो म्याद सकिएपछि शुल्क नउठाउने भनेको हो । उहाँहरुको चैतसम्म म्याद थपिएको छ,’ उनले भने ।
महामारी देखाएर म्याद थपे पनि ठेकेदार कम्पनीले नियमित रुपमा किस्ता नतिरेको पाइएको प्रवक्ता तिमिल्सिनाले सुनाए । उनले ठेकेदार कम्पनीले ३ किस्ता नबुझाएको जानकारी दिए ।
चैत महिनापछि सडक पार्किङ के गर्ने भन्ने विषयमा विकल्पको खोजी भइरहेको प्रवक्ता तिमिल्सिनाले जानकारी दिए । ‘मेयर साबले अब सडक पार्किङको शुल्क नलिने भन्नुभा’छ । विकल्प खोजिराखेका छौं,’ उनले भने ।
कहाँ कति उठाउँछन् शुल्क
महानगरले सडक पार्किङको चापअनुसार शुल्क तोकेको छ । जसअनुसार सेती नदी पुल पृथ्वीचोक, सभागृह चोक जिरो किलोमिटर, नयाँबजार, महेन्द्रपुल, पालिखेचोक, सिद्धार्थचोक, नागढुंगालगायत ठाउँमा मिनी बस, माइक्रो बस पार्किङ गरेबापत प्रतिघन्टा ३० रुपैयाँ सवारी धनीले तिर्दै आएका छन् ।
त्यस्तै, कार, जिप प्रतिघन्टा २० र मोटरसाइकल स्कुटर प्रतिदिन १० रुपैयाँका दरले ठेक्का लिने कम्पनीले पार्किङ शुल्क उठाउँछन् ।
अन्य सडकअन्तर्गत अमरसिंह चोकदेखि पृथ्वीचोकसम्म, मुस्ताङचोकदेखि बिरौटा हुँदै छोरेपाटनसम्म, पालिखेचोकदेखि नदीपुर बगर हुँदै केआईसिंह पुललगायतका ठाउँमा पनि सवारी धनीले पार्किङ शुल्क तिर्नुपर्दछ ।
ती ठाउँमा ठूला बस–ट्रकधनीले प्रतिघन्टा ३० रुपैयाँ, मझौला मिनीबस, माइक्रोबस प्रतिघन्टा २० तथा कार, जिप, भ्यानले प्रतिघन्टा १५ रुपैयाँ र मोटरसाइकल, स्कुटर धनीले प्रतिदिन १० रुपैयाँ पार्किङ शुल्क तिर्दै आएका छन् ।
प्रकाशित मिति २०७९ मंसिर २९ गते बिहीबार ०८:१०




