२०८३ साउन २१ गते बिहीबार

घरदेखि विद्यालयसम्मः बच्चाको सिकाइ घरमा कि विद्यालयमा ?

घरदेखि विद्यालयसम्मः बच्चाको सिकाइ घरमा कि विद्यालयमा ?

विकास रोकामगर

@Public 4K Tv

२०७९ पुस ७ गते बिहीबार ०४:४६

डा. दाहालले विद्यार्थीको पहिलो सिकाइ विद्यालयभन्दा पनि घरबाटै हुने भएकाले उनीहरुलाई कस्तो शिक्षा दिने वा कस्तो बनाउने भन्ने विषयमा अभिभावक गम्भीर हुनुपर्ने बताइन् ।

पोखरा
अभिभावकको रुचि निजी विद्यालयतर्फ बढ्दै गएपछि अहिले अधिकांश सरकारी विद्यालयले पनि अंग्रेजी माध्यम सुरु गरेका छन् । अझ त्यसमाथि जेहेन्दार विद्यार्थीमात्रै भर्ना लिने भन्दै साना बालबालिकाको प्रवेश लिने प्रचलन सुरु गरेका छन् । एउटै विद्यालयमा गइरहेका बालबालिकाले पनि आफ्नो वर्गअनुसार फरक कक्षा कोठा, फरक शिक्षकको शिक्षा लिनुपर्ने अवस्था छ । तर, यसरी एउटै विद्यालयमा फरक तरिकाले सिकाइ विधि अपनाउँदा विद्यालयबाटै वर्गीय उत्पादन भइरहेको शिक्षाविद् डा. मीनाक्षी दाहाल बताउँछिन् । ‘सरकारी नियमन, मापदण्ड नबनाइदिँदा अहिले स्कुल नै वगीय उत्पादन हुने देखिन्छ । सिकाइको खाडल त्यहीबाट सुरु भएको देखिन्छ,’ डा दाहाल भन्छिन्, ‘निजी विद्यालयको सिको गरेर अंग्रेजी बनाउने, प्रवेश परीक्षा लिनुपर्ने गर्न थालेका छन् । यो एकदमै विभेद छ, वर्गीयकरण छ ।’

पोखरा लेकसाइडमा जारी नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करणको पहिलो दिन भएको ‘घरदेखि विद्यालयसम्म’ विषयक सेसनमा डा मीनाक्षीले उक्त भनाइ राखेकी हुन् । उनले अहिले स्कुल बालबालिकाका लागि सिकाइभन्दा पनि सिर्जनशीलतालाई दबाउने थलो भएको विचार राखिन् । डा. दाहालले विद्यार्थीको पहिलो सिकाइ विद्यालयभन्दा पनि घरबाटै हुने भएकाले उनीहरुलाई कस्तो शिक्षा दिने वा कस्तो बनाउने भन्ने विषयमा अभिभावक गम्भीर हुनुपर्ने बताइन् ।
सिकाइ घरबाटै आरम्भ हुन्छ । एपक्षलाई आरोपभन्दा पनि । त्यस्तो वातावरण हामीले तयार गरिदिऔं न । छोराछोरीलाई बाहिर पठाएर हामीले गर्व गर्ने अवस्था छ । ‘अहिले हामी जति छिटो विद्यालय पठाउन सक्यौं, त्यति आराम महसुस गर्छौैं । हुन त यो महिला भएका कारण, अफिस जानुपर्ने कारण पनि होला,’ डा दाहालले भनिन्, ‘तर, यसको नतिजा गम्भीर छ ।’

बालबालिकाको प्रश्नलाई अभिभावक, शिक्षकले दबाउँदै जाँदा अहिले बालबालिका अन्तरमुखी भइरहेको उनको भनाइ थियो । ‘बिहानदेखि साँझसम्म पढाइमै राख्ने, एकअर्कासँग बोल्न पनि नदिने पछि हामीले पाउने नतिजा नै यही हो,’ उनले भनिन् । अहिले बालबालिकाले घरमा मात्रै नभएर स्कुलमा पनि राम्रोसँग खेल्न नपाउने स्थिति बनेको डा दाहालको भनाइ थियो । बालबालिकालाई पढाइमा जेहेन्दार बनाउने नाममा अहिले घर तथा विद्यालय दुवैले उनीहरुलाई यातना दिइरहेको उनको विचार छ ।

डा. दाहालका अनुसार बालबालिकालाई जति औपचारिक हुन सिकायो त्यति धेरै सिकाइको मौका पाउँछन् । सिकाइ सिर्जनाशीलतामा हुने तर, घर र विद्यालयमा विभिन्न नियममा बाँध्दा बालबालिकाको सिर्जनशीलता नै हराउँदै गएको उनको भनाइ थियो । ‘जति अनौपचारिक हुन्छ । त्यति सिकाइ हुन्छ । सिमाइ त सिर्जनशीलतामा हुन्छ । जति नियमा बाँध्छौ, सिर्जनशीलता त्यति मर्छ,’ डा मीनाक्षीले भनिन्, ‘विद्यालय एउटा औपचारिक स्ट्रकचरमा हुन्छ । त्यहाँ गएर पढाइ त होला, तर उपलब्धी हेर्दा झनै निरास हुनुवर्ने अवस्था छ ।’ कडा अनुशासन भएको ठाउँमा सिर्जनशीलता फक्रन नपाउने उनले सुनाइन् ।

अहिले बालबालिकाको रुचि, चाहनालाई नबुझेर सिकाउने नाममा फ्याक्ट्रीबाट इँटा उत्पादन गर्ने काम भइरहेको डा दाहालको भनाइ छ । हरेक मान्छे फरक प्रकृति र स्वभाव लिएर जन्म लिने र उनीहरुको रुचि र स्वभाव पहिचान गरेर सिकाउनुपर्ने उनको जोड थियो । ‘अहिलेको हाम्रो स्ट्रक्चरले सबैलाई एउटै बनाउन खोज्यो, फ्याक्ट्रीबाट एकै खालको इँटा निकालेकोजस्तो भयो,’ डा दाहालले भनिन्, ‘हामी स्वभावैले फरकफरक प्रकृतिका हौैं । तर, त्यस्तो हुनै दिएन । अनि कसरी फरक विचार आउँछ ? फरक सोच्न थाल्यो, हिँड्यो भने ग्रेडिक, लेभलिद्ध गर्न थाल्छौं । इटाको मूल्य तोकेजस्तो । ’

अहिलेको विद्यालय स्ट्रक्चर र सिकाइ माध्ययले बालबालिकाको प्रश्नलाई नै मारिरहेको उनले सुनाइन् । ‘जब बालबालिका प्रश्न गर्न सक्दैनन् तब त्यहाँ सिकाइ नै हुँदैनन् । अहिलेको एस म्याम, एस सर सिकाइ नै होइन,’ उनले भनिन्, ‘अहिले हामीले त्यही सिकाइराखेको छौं ।’ बालबालिकाले अहिले उक्त कुरा नबुझ्ने तर, अभिभावकले सिकाइलाई सेवाका रुपमा अघि बढाउनुपर्ने उनको सुझाव थियो । ‘उसो त हरेक अभिभावकलाई बालबालिकालाई त्यसरी स्वतन्त्र छोड्दा बिग्रन्छन्, टिनएजमा कुलतमा लाग्छन् । त्योभन्दा सानैबाट डिसिप्लिजनमा राखौं भन्ने हुन्छ नि त,’ सेसन सहजीकरण गरिरहेका दिनकर नेपाल प्रश्न गर्छन् ।

उक्त प्रश्नमा जवाफ दिँदै डा. मीनाक्षी बिग्रन वा सप्रनु शब्द आफैंमा विरोधाभाष भएको बताइन् । उनले सबै व्यक्तिको आआफ्नै रुचि हुने भएकाले त्योभन्दा फरक तरिकाले सोच्दा नै बिग्रिएको भन्न नमिल्ने बताइन् । तर, कुलतबारे पनि अभिभावकले नै कसरी ‘रोलमाडेलिङ’ गर्छन् त्यसमा भर पर्ने उनले सुनाइन् । ‘कुलत कुरा गर्नु भएको छ । त्यो हामीले बालबालिकोको रोलमोडल कसरी बन्ने, के सिकाउनेमै भर पर्छ,’ उनले भनिन्, ‘हामी अभिभावकले बालबालिकाले उनीहरुलाई गर्ने दैनिक व्यवहार एउटै हुन्छ कि हुँदैन भन्नेमा पनि भर पर्छ ।’

डा दाहालले अभिभावकको खुसी हुँदा बालबालिकासँग एउटा व्यवहार गर्ने र उनीहरु दुखी हुँदा अर्को व्यवहार गर्ने प्रवृत्तिको विरोध गरिन् । ‘हामी अभिभावक पनि खुसी हुँदा एउटा व्यवहार हुन्छ, रिसाउँदा अर्को भइदिन्छौं,’ उनले भनिन्, ‘यो स्ट्रिक गरेर होइन, असल सम्बन्ध बनाएर गर्ने हो ।’ बालबालिका स्वभावैले जिज्ञासु हुने प्रश्न गर्ने भएकाले उनीहरुको प्रश्नलाई रोक्न नहुने उनको भनाइ थियो । ‘जब उनीहरु सहि जवाफ पाउँछन्, तनब सन्तुष्ट हुने हो । प्रश्नको जवाफ पाएनन् भने अभियस्ली उनीहरु नयाँ माध्यम खोज्न थाल्छन्,’ उनले भनिन्, ‘बालबालिका अनुहार पढ्न सक्छन्, व्यवहार पढ्न सक्छन् ।’

‘अंग्रेजी सबथोक होइन’
शिक्षाविद् डा मीनाक्षीले दिनकर नेपालसँग बालबालिकालाई आफ्नै मातृभाषामा सिक्न वञ्चित गरिरहेको बताइन् । उनले पछिल्लो समय अंग्रेजी सिकाउने नाममा आफ्नो मातृभाषा र अंग्रेजी दुवैबाट टाढा बनाइराखेको उनको भनाइ छ ।
डा दाहालका अनुसार बालबालिकाले आफ्नो मातृभाषाबाटै सबैभन्दा छिटो र धेरै सिक्न सक्छन् । तर, अहिले अंग्रेजीमा दख्खल राखेमात्रै सफल होइन्छ भन्ने भ्रम उनीहरुलाई पार्दा आफ्नै संस्कार, संस्कृति र भाषाबाट बञ्चित बन्दै गइरहेका उनले सुनाइन् ।

‘यदि सिक्ने हो भने आफ्नो भाषामा धेरै सिकिन्छ । अहिले गुणस्तरको नाममा भाषा सिकाउँदैछौं । त्यसको प्रतिफल भोग्दछौं,’ उनले भनिन्, ‘आफ्नो भाषामा पनि भावना पोख्न सकेका छौनन् । उनीहरुको कुराकानी गर्ने क्षमता नै मार्दैछौं ।’ उनले भाषालाई सिकाइको माध्यम नबनाइ भाषाकै रुपमा पढाइ भइरहेको सुनाइन् ।

‘भाषा अंग्रेजीमात्रै किन ? हाम्रो लोकल भाषाहरु सिकाऊँ । सिक्ने र सिकाउने तरिका छ । सिकाउने समस्या ओइन, तरिकामा चाहिँ फरक गनुैपर्छै भन्ने मेरो विचार हो,’ डा दाहालले भनिन्, ‘शैलीलाई फरक गर्नुपर्छ ।’
उनले भाषाभन्दा पनि अभिव्यक्ति एवं सञ्चारको सीप सिकाउन आजको बालबालिकालाई मुख्य आवश्यकता रहेको सुनाइन् । ‘अभिव्यक्ति सीप, सञ्चारका सीप सिकाउनुपर्ने रहेछ । तर, अहिले थोपरिएको भाषा स्कुलले अन्याय गरेको छ, अत्याचार गरेको छ,’ उनले भनिन् ।

प्रकाशित मिति २०७९ पुस ७ गते बिहीबार ०४:४६
हजुरको प्रतिक्रिया