पोखरा
झापाकी गुञ्जन लुइँटेल २०१८ मा पहिलोपल्ट नेपालको दुर्गम जिल्ला डोल्पामा पढाउन पुगिन् । पूर्वको समथर मैदानबाट हिमाली उचाइमा पुगेकी उनको एउटै उद्देश्य थियोे, ‘डोल्पाका सानासाना बालबालिकालाई शिक्षा दिने, समाज सिकाउने ।’ पूर्वाधारका हिसाबले केही सुगम ठाउँबाट दुर्गम भूगोल पुगेकी गुञ्जनले त्यहाँका विद्यालयमा शिक्षक नै भेटिनन् । एक शैक्षिक वर्षमा एकाधबाहेक त्यहाँ दरबन्दी पाएर गएका शिक्षकको दर्शनसमेत पाइनन्, बातचितको मौका त परै जाओस् !
‘डोल्पामा म गएको सरकारी स्कुलमा टिचर भेट्नै पाइनँ । हुनुहुन्छ भन्ने सुनेंमात्रै,’ लुइँटेलले दुर्गमका विद्यालयका शैक्षिक अवस्थाबारे सुनाइन्, ‘एकजना शिक्षक आउनु भयो केही समय बसेर फर्किहाल्नुभयो । भेट्नै पाइनँ । उहाँहरु पढाउन इच्छुक हुनुहुन्थेनजस्तो लाग्यो ।’ दरबन्दीमा गएका त्यहाँका शिक्षक किन पढाउन अनिच्छुक भए भन्नबारे आफूले भेउ नै पाउन नसकेको सुनाइन । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलको तेस्रो दिन भएको ‘दुर्गमका सर–मिस’ सत्रमा गुञ्जनले आफू दुर्गममा पढाउन पुग्दाको अनुभव बाँडेकी हुन् । शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले सहजीकरण गरेको उक्त सत्रमा वक्ताका रुपमा गुञ्जनसँगै मोइन उद्दिन र मिङ्मा तेञ्जिङ केसी सहभागी थिए ।
‘टिच फर नेपाल’ नामक संस्थाबाट डोल्पामै पढाउन पुगेका मोइन उद्दिनले पनि त्यही परिस्थिति भोगे । शिक्षकहरु सदरमुकामसम्म पुग्ने तर, विद्यार्थीसम्म कहिल्यै नपुग्ने आफैंले अनुभव गरेर फर्किए । ‘एउटा शैक्षिक वर्षमा त्यहाँ पढाइ हुने भनेको ७ महिना नै हो । तर, उहाँहरु सदरमुकाममै बसेर हाजिर गरेर तलब लिएर जाने धेरै देखें,’ उनले भने, ‘विद्यार्थीसम्म पुगेको भेटिनँ ।’ काठमाडौंको सम्पन्नशाली निजी विद्यालयमा पढेका मिङ्मा तेञ्जिङ केसी पनि २०१८ मा पहिलोपल्ट टिच फर नेपालबाटै सिन्धुपाल्चोक पढाउन गएका थिए । देशकै संघीय राजधानी काठमाडौंबाट दुर्गमको भोटेनाम्लाङ गाउँमा पढाउन पुगेका उनले सोचेको भन्दा फरक अनुभव गर्न पाए । त्यही पहिलो अनुभवले नै सधैं बालबालिकासँग जोडिइरहन प्रेरणा दियो ।
भोटेनाम्लाङमा न काठमाडौंमा देखेकोजस्तो शिक्षक थिए न विद्यार्थी नै । ‘संयोगवश काठमाडौंमा राम्रो बोर्डिङ कुलमा पढ्न पाएँ । भोटेनामलाङमा पहिलो अनुभव थियो,’ तेञ्जिङले आफ्नो अनुभव बाँडे, ‘त्यहाँका विद्यार्थी कोही चप्पलमा आउने, नांगै आइदिने, भाइबैनी बोकेर आउने भेटिए । कोहीकोही त गाईबाख्रा चराएर बस्नुहुन्थ्यो ।’ गाउँमा शिक्षक भए पनि बाध्यताकै भूमरी फसेको तेञ्जिङले त्यहीं अनुभव गरे । राम्रो गर्ने प्रयास गर्दागर्दै पनि पनि असफल बनेका ‘मास्टर’ उनी त्यहीं भेटे । ‘केही टिचरहरु प्रयास त गर्नुहुन्थ्यो । तर, आफ्नै गाउँठाउँ र समाज भएकाले उहाँहरुको आफ्नै बाध्यता पनि थियो,’ उनले सुनाए, ‘त्यो अनुभव त्यो सिटीमा हुन्थेन ।’
सुरुमा अंग्रेजी शिक्षक भएर सिन्धुपाल्चोक पुगेका तेञ्जिङ त्यहाँको आवश्यकता केवल शिक्षकमात्रै नभएको बुझे । ‘त्यहाँ मैले अंग्रेजीबाहेक धेरै संगीत, खेलकुद पनि सिकाएँ । त्यहाँका महिलाहरुलाई फुटबल सिकाएँ । टुर्नामेन्ट पनि गर्न सफल भएँ,’ उनी खुसी सुनिए, ‘पहिलो पटक केटीहरुमात्रै खेल्न बाहिर जान पाए ।’
पहिलोपटक सिन्धुपाल्चोकमा स्वयंसेवक शिक्षकका रुपमा नगए पनि त्यहाँको शैक्षिक अवस्था हेरेर आफूले पनि पढाउन थालेको बताउँछन्, मोइन उद्दिन । सपनाविहीन विद्यार्थीलाई शिक्षासँगै सपनाको जग बसाल्न पनि आफूले पढाउन सुरु गरेको उनको भनाइ छ । ‘सिन्धुलाल्चोलक टिचर हुन गएको होइन । तर, त्यहाँ गएसकेपछि बालबालिकासँग माया बस्यो,’ आफूले स्वयंसेवक शिक्षण सुरुगर्दाताकाका सुरुआती दिन सम्झिए, ‘त्यहाँका विद्यार्थीलाई सपना देखाउन सकिन्छ । सपना देखाउनमात्रै पूरा गराउन पनि सकिन्छ भन्ने थाहा पाएँ ।’
उनले त्यहाँका दुर्गमका बालबालिकालाई सपना सफल पार्न सकिन्छ भन्ने उदारहरण प्रयोगात्मक रुपमै देखाउन काठमाडौंका विभिन्न ठाउँमा पनि ‘एक्स्पोजर ट्रिप’ गरेको सुनाए । त्यतिबेला उनले काठमाडौंका बैंक, मिडिया, अस्पताल, थियटर सबैमा सानासाना विद्यार्थीलाई प्रत्यक्ष अवलोकन गराए । भन्छन्, ‘भविष्य केके छ, कसरी सफल भइन्छ भनेर रियल मान्छेलाई नै भेट्टाएँ । त्यो एकदमै सफल भएको थियो ।’
स्वयंसेवी शिक्षिका गुञ्जन मिस नेपालका कुनाकन्दरामा पुग्दापुग्दै गुञ्जन मिसको परिचय बनाएकी छन् । उनले नेपालका थुप्रै जिल्लामा पढाउन पुगे पनि आफूलाई ‘कर्णालीकी गुञ्जन मिस’कै रुपमा बढी चिनिएको सुनाइन् । ‘पढाउन गएको माया गर्न सिकेर आएँ । समाज, भूगोल र संस्कृति आफैंले सिक्न पाएँ,’ उनी भन्छिन् ।
शिक्षक बन्नै अनिच्छुक !
भदौमा शिक्षक सेवा आयोगले माविस्तरीय १५ सय जना शिक्षकको दरबन्दी आह्वान गर्दै विज्ञापन ग¥यो । तर, उक्त परीक्षामा करिब ११ सय जनामात्रै उत्तीर्ण हुन सके । बाँकीले न्यूनतम अंक पनि पूरा गर्नै सकेनन् । खोलिएको विज्ञापनमा पनि ४ सय जना फेरि रिक्त हुन पुग्यो ।
यसबाट नेपालमा शिक्षण पेशाप्रति विस्तारै वितृष्णा र अरुचि बढ्दै गएको देखिएको सत्र सहजीकरण गरिहेका शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालको टिप्पणी छ । उनी भन्छन्, ‘अहिले शिक्षकको खाँचो एकदमै चर्को रुपमा गएको छ । तर, त्यसको अनुपातमा शिक्षण पेशामा आउने नयाँ पुस्ता एकदमै कम हुँदै पनि गएको छ ।’ ‘शिक्षक सेवा आयोगमा निकालेकाहरु पनि लोकसेवामा खरदार नासुमा गइरहेको भेटिएका छन् । टिचिङ धेरैको सोचाइमा छैन । नयाँ पुस्तालाई शिक्षणमा कसरी आकर्षित गर्ने ?’ दाहाल प्रश्न गर्छन् ।
तीन वटै वक्ताको एकै उत्तर थियो, ‘शिक्षण पेशालाई मर्यादित र सम्मानित बनाउन सरकारी नीतिगत तहबाटै सुधार हुनुपर्छ । प्रधानाध्यापक, स्थानीय तह र अभिभावक पनि उत्तिकै जिम्मेवारी हुनुपर्छ ।’ कुनै एउटा शिक्षकले विद्यार्थीको चाहना र मनोविज्ञानलाई अध्ययन गरेर पढाउन सकेमात्रै उक्त सिकाइ सफल हुने तेञ्जिङको विचार छ । ‘शिक्षक समाज बुझेको हुनुपर्छ र आफूले भागेका अनुभवलाई बाँड्न सक्ने हुनुपर्छ । ५ वटा औंला त समान छैनन्, विद्यार्थीको रुचि पनि एउटै छैन भन्ने बुझ्नुपर्छ,’ भन्छन्, ‘एउटा टिचरले विद्यार्थीको इन्ट्रेस थाहा हुनुपर्छ ।’
विद्यार्थीलाई उच्च शिक्षा पछिमात्रै इन्टर्नसिप गराउने चलन रहेकाले अब ६ कक्षाबाट उक्त अभ्यास थाल्नुपर्ने तेञ्जिङको सुझाव छ । साहित्यदेखि खेलकुद, व्यापार, व्यवसायमा सानैदेखि इन्टर्नसिप गराएमा उनीहरुले आफ्नो रुचि पहिचान गर्न सिक्ने र भविष्यमा के बन्नेबारे उनीहरु आफैंले थाहा पाउन सक्ने उनको भनाइ थियो । वक्ता मोइन उद्दिन सबै विद्यार्थीलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै ‘एक्स्पोजर ट्रिप’मा लैजान सके उक्त सिकाइ प्रभावकारी हुने विचार राखे । उनले आफूले पढाएका ठाउँमा उक्त उपाय धेरै प्रभावकारी देखिएकाले पनि समाज बुझ्न धेरै काम लागेको सुनाए । ‘अर्को कुरा अब तराईको विद्यार्थी हिमालमा, हिमालको विद्यार्थी तराईमा गएर पढा्स् भन्ने चाहन्छु,’ मोइनले अबको आफ्नो सपना सुनाए, ‘कम्तिमा साना विद्यार्थीले जीवन जगत, समाज, क्लचर बुझन पाउनुहुन्छ । भेदचाव पनि कम हुन्थ्यो । यसरी कुराकानी गर्दा सबै एउटै मान्छे रहेछ भन्ने उनीहरु महसुुस गर्न पाउँछन् ।’
प्रकाशित मिति २०७९ पुस ९ गते शनिबार ०२:१२




