२०८३ साउन २१ गते बिहीबार

कारागार पुगेर मुख्यमन्त्री पोखरेलले सम्झिए जेल जीवन

कारागार पुगेर मुख्यमन्त्री पोखरेलले सम्झिए जेल जीवन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १२ गते मंगलबार ०६:११

उनी मंगलबार कास्की कारागारमा पुगे । त्यो बेलाको जेल जीवनलाई सम्झिए ।

पोखरा

पञ्चायती व्यवस्थाविरुद्ध नेपाली कांग्रेसले देशभर आन्दोलन चलाइरहेको थियो । तत्कालीन पञ्चायती सरकारले नवलपुरका कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेललाई पक्राउ ग¥यो । पक्राउ परेका नेपालीलाई ल्याइपु¥याइयो कास्की कारागारमा । एक महिना जेल बसेपछि उनी रिहा भए ।

यो २०३५ सालको कुरा हो ।

२०३६ सालको जनमत संग्रहको बेला उनी फेरी दोस्रो पटक पक्राउ परे । र सोही जेलमा साढे ८ महिना कैद भए । उनै नेता पोखरेल गण्डकी प्रदेशका मुुख्यमन्त्री छन् । उनी मंगलबार कास्की कारागारमा पुगे । त्यो बेलाको जेल जीवनलाई सम्झिए । क्षमताभन्दा बढी कैदीबन्दी हुदाँ सकसपूर्ण जेल जीवन बिताएको मुख्यमन्त्री पोखरेलले सुनाए ।

कारागारलाई सुधार गृह बनाउने प्रयास भएपनि क्षमताभन्दा बढी कैदी राख्दा सम्भव नभएको उनले बताए । केन्द्र सरकार मातहातमा भएकाले प्रदेश सरकारले कारागार सुधारको काम गर्न नसकेको उनको भनाई छ । ‘यो हाम्रो दायित्वको कुरा हो । खासगरी यो लोकतन्त्रमा संघीयतामा जुन मानवीय मापदण्ड छन् ती मापदण्ड सबै कैदीबन्दीहरुलाई हुनुपर्छ भन्नेमा विश्वास राख्छौं । केन्द्र सरकारसँग यी कुराहरु हाम्रा माध्यमबाट राख्नेछौं’, उनले भने ।

मुख्यमन्त्री पोखरेलले यो मुलुकको नेतृत्वमा पुग्नेहरु जेल जीवन नबिताएका कोेही नभएको बताए ।

‘एउटा तीतो सत्य के रहेछ भने यो मुलुकको प्रधानमन्त्री मन्त्री हुने प्राय जेल नबसेको कोही छैन, नयाँ पूस्ताबाहेक । हामी जेलबाट निस्किसकेपछि राज्य सञ्चालनमा हामी पुग्यौं । तर, त्यो जेलभित्रको कुरा हामी भुल्दा रहेछौं । म स्विकार्न चाहान्छु’, उनले भने ।

गण्डकीका आन्तरिक मामिला मन्त्री डोवाटे विकले कैदीबन्दीलाई मानवअधिकारको प्रत्याभूत गराउने राज्यको अधिकार भएको बताए । ‘धेरै जिल्लाको कारागर निरिक्षण गरेको छु । कहीं पनि दोब्बरभन्दा कम कैदीबन्दी छैनन्’, उनले भने । कारागारलाई सुधार गृह बनाउन राज्यको ध्यान नपुगेको उनको ठम्याइ छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सरकार कारागारको दुरावस्थाबारे जानकार रहेको बताए । ‘कारगारको दुरावस्थाबारे थाहा नभएको हैन थाहा छ । सुधारको काम गर्दै पनि आएको छ’, उनको जिकिर छ । खचाखच कैदीबन्दी बस्नपर्ने अवस्थामा पनि सुधार आउने केसीले बताए ।

कास्की कारागारको क्षमता ४२० हो । क्षमता भन्दा दोब्बर बढी ८११ जना कैदी रहेको निमित्त जेलर महेन्द्रबहादुर कुवँरले जानकारी दिए । उनले कैदीबन्दीको तुलनामा स्वास्थ्यकर्मीको कमी भएको बताए । १ जना सिनियर अहेवको दरबन्दी रहेको छ ।

‘कैदीबन्दीको संख्या अनुसार एमबिबिएस डाक्टर र थप स्वास्थ्यर्कीको व्यवस्था हुनुपर्नेछ’, उनले भने, ‘महिला कैदीबन्दी भएकाले महिला स्वास्थ्यकर्मीको समेत आवश्यकता छ ।’ निमित्त जेलर कुवँरका अनुुसार कारागारमा खानेपानी, सोलारबत्ती र पढ्नका लागि विद्यालयको समस्या छ । प्रशासनिक भवन र सुरक्षापोष्ट जिर्ण भएको मुख्यमन्त्री पोखरेल समक्ष गुनासो पोखे ।

प्रकाशित मिति २०७९ पुस १२ गते मंगलबार ०६:११
हजुरको प्रतिक्रिया