पोखरा
संघीय शासनपछि दोस्रो पटक भएको निर्वाचनबाट निर्वाचित गण्डकीका प्रदेश सभा सदस्यहरुको सपथ आज हुँदैछ । पर्वत १(२)बाट निर्वाचित नेकपा एमालेका सांसद मित्रलाल बस्यालले ५९ जना सदस्यहरुलाई सपथ गराउनेछन् । प्रदेश सभा भवनमा दिउँसो १ बजे सपथको कार्यक्रम छ ।
गण्डकी प्रदेश सभाको ज्येष्ठ सदस्य बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सपथ गराएका थिए । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीका एक सांसद छन् । प्रदेश प्रमुख गुरुङले पुस १८ गते प्रदेश अधिवेशन आह्वान गरेका छन् ।
प्रदेश सभा सचिवालयले शपथ ग्रहण समारोहमा राष्ट्रिय पोशाक वा जातीय पहिचान झल्किने पोशाक लगाएर ११ बजे नै उपस्थित हुन सांसदहरुलाई आह्वान गरेको छ । प्रदेश सांसदहरुलाई निर्वाचन आयोगले दिएको निर्वाचित भएको प्रमाणपत्र साथमै लिएर आउन पनि भनिएको छ ।
प्रकाशित मिति २०७९ पुस १४ गते बिहीबार ०८:५९