माओवादीबाट चुमान र राप्रपाबाट पञ्चराम मन्त्री बन्ने पक्का
पोखरा
गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । संघीय शासन प्रणाली लागू भएपछि दोस्रो पटक भएको संसदीय निर्वाचिनपछि नयाँ सरकार गठन हुन लागेको हो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनको लागि दाबी पेश गर्न दिएको समय आज अपराह्न ४ बजे सकिँदै छ ।
सक्ता साझेदार दलहरुबीच हिजो भएको सहमति अनुसार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुँदैछ । आज बिहान १० बजे संसदीय दलको बैठक बसेर प्रदेश प्रमुखले दिएको समयसिमा भित्र दाबी पेश गर्ने जाने तयारी नेकपा एमालेले गरेको एक नेताले बताए । गण्डकीमा सत्ता गठबन्धन साझेदार दल एमाले, माओवादी र राप्रपाले आज मुख्यमन्त्री दाबी पेस गर्नेछन् । प्रमुख गुरुङले पुस २१ गते नयाँ सरकार गठन गर्न ५ दिनको समय दिएका थिए । गुरुङले संविधानको धारा १६८ को उपधारा १ बाट सरकार गठन गर्न सम्भव नदेखिएकाले सोही धाराको उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न गरेकाले आह्वान गरेका थिए ।
खगराजको राजनीतिक यात्रा
कास्की क्षेत्र नम्बर १ (१) बाट प्रदेश सभामा निर्वाचित अधिकारी स्वास्थ्य र गृहमन्त्री भइसकेका छन् । एमालेले मुख्यमन्त्रीको रूपमा अधिकारीलाई प्रदेशमा उठाएको थियो । २०४८, २०५१, २०५६, २०६४ र २०७४ मा संसदीय निर्वाचन उम्मेदवार बनेका अधिकारी २ पटक विजयी र तीन पटक पराजित भएका थिए । २०१८ साल चैतमा बेगनासमा जन्मेका अधिकारीको राजनीतिक यात्रा २०२९ सालमा स्थानीय आनन्द ज्योति माविमा अध्ययन गर्दादेखि सुरु भएको हो ।
राजनीतिक घटना क्रममा ५ पटकसम्म जेल जीवन बिताएका अधिकारी २०३७ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य, २०४०\४१ मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापतिहँुदै अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्ष र पार्टीका विभिन्न विभाग र किमिटीका रहेर काम गरिसकेका छन् । कास्कीमा प्रभावशाली र केन्द्रमा पहुँच भएका नेताका रुपमा चिनिएका अधिकारी अहिले नेकपा एमालेको संगठन विभाग प्रमुख र स्थायी कमिटी सदस्य छन् ।
मुख्यमन्त्री भएपछि खगराज अधिकारीले मन्त्रालय घटाउने तयारी गरेका छन् । अधिकारीले अहिले १२ जना मन्त्रीको सट्टा ९ मात्र बनाउने तयारी गरेको स्रोत बताउँछ । सत्ता गठबन्धनको प्रारम्भिक भागबन्डामा प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका ४, माओवादीका ४ र राप्रपाका १ जनालाई मन्त्री बनाउने तयारी छ । संविधान अनुसार गण्डकीमा १२ मन्त्रालय बनाउन मिल्छ ।
६० सदस्यीय प्रदेश सभा रहेको गण्डकीमा सरकार बनाउन ३१ सदस्य आवश्यक पर्छ । एमालेसँग २२, माओवादीसँग ८ सिट छ । केन्द्रीय गठबन्धनमा सामेल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गण्डकीमा २ सिट छ । यी ३ वटा दल मिलेर गण्डकीमा ३२ सिट पुग्छ ।
राजीवको पनि समर्थन
गण्डकीमा एकीकृत समाजवादीमा प्रवेश गरेका राजीव गुरुङेले पनि अधिकारीलाई भेटेर विश्वासको मत दिने आश्वासन दिएका स्रोतको दाबी छ । यसो भए अधिकारीलाई ३२ सदस्यको समर्थन पुग्न सक्छ । प्रदेश सभामा नेपाली कांग्रेससँग २७ सांसद छन् ।
माओवादीबाट चुमान मन्त्री बन्ने पक्का
सत्ता गठबन्धनको भागबन्डामा माओवादीबाट सभामुख पाउन भएको छ । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त हुने माओवादी स्रोतले बताएको छ । मन्त्री परिषद्मा मुख्यमन्त्रीपछि उनी दोस्रो वरियतामा रहनेछन् । चुमान पृथ्वीसुब्बा नेतृत्व सरकारमा आन्तरिक मामिला मन्त्री थिए । माओवादीबाट कृष्ण धिताल, कुसुम बुढा, रेशम जुग्जाली, सुशीला शिंखडा, नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाको पनि मन्त्रीमा चर्चा छ । धितालको समाभुखमा पनि चर्चा छ । माओजादी स्रोतका अनुसार कृष्ण धिताल सभामुख बन्ने पक्का भएको छ ।
एमालेका सम्भावित मन्त्रीहरु
एमालेबाट भीम कार्की, सीता सुन्दास, रोशन गाहामगर, लीलबहादुर थापा, गोविन्दबहादुर नेपालीको नाम चर्चामा छ । राप्रपाबाट पञ्चराम गुरुङ मन्त्री हुने स्रोत बताउँछ । आज मुख्यमन्त्रीको सपथसँगै मन्त्रि परिषद् विस्तार भएपनि मन्त्रालय भागवण्डा भने टुंगिएको छैन । एमालेका कार्की कास्की, सीता स्याङ्जा, रोशन नवलपुर, लीलबहादुर र गोविन्द बागलुङका हुन् ।

प्रकाशित मिति २०७९ पुस २५ गते सोमबार ०९:३०




