पोखरा
गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि सत्ता साझेदार दलहरु प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका छन्। दाबी पेश गर्न सत्ता साझेदार दल नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाका सांसदहरु पोखराको न्युएरा रेस्टुरेन्ट एन्ड पार्टी प्यालेसमा जम्मा भएका थिए ।
सत्ता साझेदार दलहरुबीच हिजो भएको सहमति अनुसार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुँदैछ । मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालय सहिदचोकमा एमाले संसदीय दलका नेता खगराज अधिकारीसहितका सत्ता साझेदार दलका सांसद पुगेका छन् । प्रमुख गुरुङले पुस २१ गते नयाँ सरकार गठन गर्न ५ दिनको समय दिएका थिए ।
सत्ता गठबन्धनको भागबन्डामा माओवादीबाट सभामुख पाउन भएको छ । माओवादीका कृष्ण धिताल सभामुख बन्ने पक्का भएको छ । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त हुने माओवादी स्रोतले बताएको छ । मन्त्री परिषद्मा मुख्यमन्त्रीपछि उनी दोस्रो वरियतामा रहनेछन् । चुमान पृथ्वीसुब्बा नेतृत्व सरकारमा आन्तरिक मामिला मन्त्री थिए । माओवादीबाट सुशीला शिंखडा, कुसुम बुढा, रेशम जुग्जाली, नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाको पनि मन्त्रीमा चर्चा छ ।
एमालेका सम्भावित मन्त्री
एमालेबाट भीम कार्की, सीता सुन्दास, रोशन गाहामगर, लीलबहादुर थापा, गोविन्दबहादुर नेपालीको मन्त्रीमा चर्चामा छ । राप्रपाबाट पञ्चराम गुरुङ मन्त्री हुने स्रोत बताउँछ । आज मुख्यमन्त्रीको सपथसँगै मन्त्रि परिष्द विस्तार भएपनि मन्त्रालय भागवण्डा भने टुंगिएको छैन ।
प्रकाशित मिति २०७९ पुस २५ गते सोमबार ०२:४२




