पोखरा
गण्डकी प्रदेशको सभामुख बन्नलाई दुइ जनाले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल र नेपाली कांग्रेसकी सरस्वती अर्यालले उम्मेदवारी दिएका हुन् ।
प्रदेश सभा सचिवालयले प्रकाशित गरेको सभामुख निर्वाचनको तालिका अनुसार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म प्रदेश सभाको कुनै सदस्यले प्रदेश सभाको कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्नुपर्ने समयमा धिताल र अर्यालले उम्मेदवारी दिए । दिउँसो ३ बजे निर्वाचन हुनेछ ।
गोरखा १ (क) बाट निर्वाचित धिताल सभामुख बन्ने निश्चित छ । सत्ता गठबन्धनमा नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ८ र राप्रपाका २ सांसद छन् । स्याङजाकी अर्याल समानुपातिकतर्फबाट सांसद बनेकी हुन् । प्रमुख प्रतिपक्ष दल कांग्रेसका २७ सांसद छन् । स्वतन्त्र निर्वाचित भइ एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) ले पनि गठबन्धनका धिताललाई मतदान गर्ने बताएका छन् ।
गण्डकीमा उपसभामुखको निर्वाचन माघ २ गते गर्ने तयारी छ । उपसभामुख गठबन्धनको भागबन्डामा एमालेलाई परेको छ । एमालेबाट पद्मा जिसी र देवका पहारीको उपसभामुखमा चर्चा छ । पद्मा नवलपुर २ (क) बाट प्रत्यक्ष निर्वाचित भएकी हुन् । कास्कीकी देवका समानुपातिक कोटाबाट सांसद भएकी हुन् ।
प्रकाशित मिति २०७९ पुस ३० गते शनिबार ०१:३५




