२०८३ साउन २१ गते बिहीबार

जाँच आयोगले सक्यो जहाज दुर्घटनास्थलको विस्तृत निरीक्षण

जाँच आयोगले सक्यो जहाज दुर्घटनास्थलको विस्तृत निरीक्षण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १० गते मंगलबार ०२:५०

अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम आयोगले अनुसन्धान गरिरहेको र सबै प्रक्रिया पुरा गरी उडान सुरक्षामा थप सहयोग पुग्ने सुझाव सहितको प्रतिवेदन नेपाल सरकार समक्ष पेश गरिने समेत आयोगले जनाएको छ ।

पोखरा

पोखरामा १ माघमा भएको जहाज दुर्घटनाबारे अध्ययन गर्न गठित जाँच आयोगले दुर्घटनास्थलको निरीक्षण र प्रमाण संकलनको काम सम्पन्न गरेको बताएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म भएका कामको विवरण सार्वजनिक गर्दै घटनास्थलको विस्तृत निरीक्षणको काम सम्पन्न भएको जानकारी दिएको हो । मन्त्रिपरिषद्को बैठकले पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा घटना भएकै दिनमा दुर्घटना जाँच आयोग गठन गरेको थियो ।

दुर्घटनास्थलबाट आवश्यक पार्टपूर्जा र वायुयानका रेकर्डर संकलनको काम समेत सम्पन्न भएको छ । आयोगले प्रत्यक्षदर्शीसँग कुराकानी, वायुसेवा सञ्चालकबाट आवश्यक कागजात संकलनको काम समेत सम्पन्न गरेको जनाएको छ । अब नियामक निकाय नेपाल नागरिक प्राधिकरण र मन्त्रालयबाट कागजात संकलनको काम जारी रहेको आयोगको भनाइ छ ।

दुर्घटनास्थल

दुर्घटना जाँचको सन्दर्भमा महत्वपूर्ण सूचना प्राप्त हुने रेकर्डरहरु नेपालमा परीक्षण गर्न नसकिने हुँदा उच्च गुणस्तरसहितको दक्ष जनशक्तिसहितको अन्तर्राष्ट्रिय ल्याबमा पठाउनु पर्ने हुन्छ । सोही अनुसार तयारी भइरहेको आयोगले जनाएको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम आयोगले अनुसन्धान गरिरहेको र सबै प्रक्रिया पुरा गरी उडान सुरक्षामा थप सहयोग पुग्ने सुझाव सहितको प्रतिवेदन नेपाल सरकार समक्ष पेश गरिने समेत आयोगले जनाएको छ ।

माघ १ गते आईतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२–९एन–एएनसी जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा हाल सम्म ७० जना जनाको शव प्राप्त भएको छ । २ जनाको अवस्था अझै अज्ञात भनिएको छ । जहाजमा चालक दलका ४ जना सदस्य सहित ७२ जना सवार थिए । जसमा महिला २५ जना, पुरुष ३७ जना, बालक ३ जना र शिशु ३ जना रहेका थिए । यस्तै विमानमा ५३ जना नेपाली र १५ जना विदेशी सवार रहेका थिए ।

प्रकाशित मिति २०७९ माघ १० गते मंगलबार ०२:५०
हजुरको प्रतिक्रिया