पोखरा
अघिल्लो कार्यकालमा गण्डकी प्रदेश सभामा सांसद रहेका ६ जनाले एमालेबाट फेरि प्रदेशमा टिकट पाएका थिए । कास्कीमा राजीव पहारी र मीना गुरुङ, मुस्ताङमा इन्द्रधारा विष्ट र चन्द्रमोहन गौचन, स्याङ्जामा मोहन रेग्मी र नवलपुरमा रोशनबहादुर गाहामगरले प्रदेश सभाका लागि टिकट पाएका थिए । जसमध्ये चुनाव जित्ने एकमात्र सांसद बने नवलपुर–१ (२) का रोशनबहादुर गाहामगर ।
संविधान सभा सदस्यबाट प्रदेशमा अघिल्लो कार्यकालमा सांसद जितेर मन्त्रीको तयारी गरेर पनि अवसर नपाएका अभागी गाहामगर यसपटक फेरि चुनाव जित्ने एमालेका एकमात्र सांसदमात्रै बनेनन्, मन्त्रिपरिषदको गठन भएकै दिनमा मन्त्री बन्ने भाग्यमानी सांसदसमेत बनेका छन् । चुनावी मैदानमा होमिँदै गर्दा एमालेको बिपक्षमा कांग्रेस–माओवादीसहितको ५ दलीय गठबन्धन थियो । त्यतिबेला गाहामगरलाई मात्रै होइन, धेरै एमालेलाई लागेको थियो, चुनाव जिते पनि मन्त्री हुने होइन । तर, सत्ता समीकरण फेरियो ।
चुनावमा प्रतिस्पर्धा गरेको पार्टी नेकपा माओवादी नै एमालेलगायतसँग मिलेपछि रोशनलाई पनि लाग्यो, ‘चुनाव जितिहालियो, अब त मन्त्री हुने पनि पक्का भयो ।’ अघिल्लो चुनावमा एकअर्कालाई जिताउन लागेको पार्टी माओवादीका लोकप्रसाद भूर्तेल यसपटक उनको प्रतिस्पर्धी थिए । गाहामगरले करिब साढे ३ हजार मतान्तरले माओवादीका उम्मेदवार भूर्तेललाई हराए । तर, त्यही माओवादीकै समर्थन हुँदा अघिल्लो चोटी पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदा मन्त्री हुन नपाएका गाहामगरले खगराज नेतृत्वको सरकारमा मन्त्री हुने अवसर पाएका छन् ।
सुरुदेखि नै अर्थमन्त्रीका रुपमा चर्चा गरिएका गाहालाई मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनुभन्दा अघिल्लो दिन पुस २८ गते प्रमुख सचेतक चयन गरेका थिए । मन्त्रीको चर्चामा रहेका गाहालाई अब प्रमुख सचेतकमै थन्क्याउन खोजिएको भन्ने तर्कहरु पनि एमालेभित्रै सुनिएका थिए । गाहामगरले भने विश्वासको मत लिने प्रयोजनका लागि मात्र आफू प्रमुख सचेतक बनेको बताइरहेका थिए । नभन्दै गाहाले भने झैं खगराजले मन्त्रीपरिषद् बिस्तार गर्दा रोशन गाहा पनि अर्थमन्त्री बन्ने सौभाग्य पाएका छन् ।
अघिल्लो पटक यसरी गुमेको थियो अवसर
२०७४ चैत पहिलो हप्ता रोशनबहादुर गाहामगरलाई गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘अर्थमन्त्री बन्ने अवसर आउन सक्छ, तयार भएर बस्नु ।’ फागुन ४ गते पृथ्वीसुब्बाले ४ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए । पृथ्वीसुब्बा मुख्यमन्त्री बन्दा एमालेका रामशरण बस्नेत र माओवादीका हरिबहादुर चुमान तथा लेखबहादुर थापालाई मन्त्री नियुक्त गरेर ४ सदस्यीय मन्त्रीपरिषद गठन गरेका थिए । ६० सदस्यीय गण्डकी प्रदेश सभामा १२ जना मन्त्री बनउन सक्ने भए पनि ७ सदस्यीय मन्त्रिपरिषद बनाउने तयारी मुख्यमन्त्री पृथ्वीसुब्बाले गरेका थिए ।
एमालेभित्रै भने ककसलाई मन्त्री बनाउने भन्नेमै सकस थियो । पृथ्वीसुब्बाजस्तै मुख्यमन्त्री बन्ने योजनासहित स्थायी कमिटी सदस्य किरण गुरुङ पनि प्रदेश सभाको चुनाव जितेर आएका थिए । किरण मुख्यमन्त्रीका लागि अन्तिमसम्मै प्रतिस्पर्धामै थिए । तर, पल्लाभारी पृथ्वीसुब्बाकै पक्षमा भएपछि संसदीय दलको नेता चयनकै दिन किरण पछि हटे र पृथ्वीसुब्बा मुख्यमन्त्री बन्ने निश्चित भयो ।
पृथ्वीसुब्बा मुख्यमन्त्रीको दाबा गरेका किरणलाई पनि मन्त्रिपरिषदमा समावेश गरेर लान चाहान्थे तर उनले मानिरहेका थिएनन् । मुख्यमन्त्रीको दाबा गरेका कारण मन्त्रीमा नजाने किरणले अडान लिएपछि गाहामगरलाई अर्थमन्त्री नियुक्त गर्ने पृथ्वीसुब्बाले बताएपछि उनले तयारी गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट प्रदीप ज्ञवालीले नै आग्रह गरेपनि किरण अर्थमन्त्री लिएर दोस्रो बरियतामा सरकारमा जान राजी भएपछि गाहामगरले अवसर पाएनन् । नेकपा विवाद उत्कर्षमा पुग्दा पृथ्वीसुब्बा नेतृत्वको सरकार नै धरापमा परेपछि स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री बनाएर सरकार जोगाउन कसरतमा थिए ।
संसदको ठूलो दलका हैसियतले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम वैशाख २९ गते दोस्रो पटक पृथ्वीसुब्बा मुख्यमन्त्री नियुक्त भएपछि मन्त्रालय ८ बाट बढाएर ११ पु¥याएका थिए । सरकारलाई हरतरहले जोगाउने र मन्त्रालय बढाउँदा गाहामगरलाई पनि मन्त्री बनाउने योजना मुख्यमन्त्री पृथ्वीसुब्बाको थियो । तर, उनले विश्वासको मत प्राप्त गर्न सकेनन् र २०७८ जेठ २९ गते सरकार ढल्यो । कृष्णचन्द्र नेपाली पोखरेलको सरकार बनेसँगै गाहाको मन्त्री हुने अवसर दोस्रो पटक पनि गुम्यो । यसपटक भने प्रदेशमा एमालेबाट प्रदेश सभामा जित्ने एकमात्र सांसद बने र अघिल्लो पटक हुन नपाएको मन्त्रीको धोको पूरा गरेका छन्, त्यो पनि अर्थ मन्त्रालयकै जिम्मेवारीसहित ।
संविधान सभा सदस्यदेखि गण्डकीको अर्थमन्त्रीसम्म
रोशन गाहामगर गण्डकी प्रदेश सभामा संसदीय अनुभव बटुलेका थुप्रै सांसदमध्ये एक हुन् । खगराजले मुख्यमन्त्री दाबी गर्दादेखि विश्वासको मत लिने प्रक्रियासम्म कागजपत्र मिलाउनेदेखि अन्य भूमिका खेल्नेमध्ये गाहामगर नै थिए ।
समानुपातिक प्रणालीमार्फत पहिलो संविधान सभा सदस्य बनेका गाहामगर गण्डकीमा मन्त्री हुने लाइन भएर अवसर नपाए पनि सरकार ढलेपछि सार्वजनिक लेखा समिति सभापति बनेका थिए । लेखा समितिको सभापति कुमार खड्का कांग्रेस नेतृत्वको सरकारमा मन्त्री भएपछि प्रतिपक्षी दल एमालेका तर्फबाट गाहामगरले समिति सभापतिका हैसियतले गाडीसहितको सुविधाको पदमा पुगेका थिए ।
२०२० सालमा पाल्माको सलकोटमा जन्मिएका गाहा अहिले कावासोती नगरपालिका वडा नं. २ भाट्टोला, नवलपुरका स्थायीवासी हुन् । २०३५ सालमा विद्यार्थी राजनीतिमा प्रवेश गरेका गाहा २०३६ सालमा पाकिस्तानमा भुट्टोलाई फाँसी दिएपछि भएको विद्रोहको क्रममा नेपालमा आन्दोलन गर्दा २५ दिन जेलसमेत परेका थिए ।
२०४३ सालमा शिवमन्दिर गाउँ पञ्चायतको उप प्रधानपञ्च पदमा निर्वाचित भएका गाहा २०४९ सालमा तत्कालीन शिवमन्दिर गाउँ विकास समितिको अध्यक्ष पदमा निर्वाचित भएका थिए । २०६४ सालमा संविधान सभा सदस्यमा समानुपातिकबाट निर्वाचित भएका उनी सार्वजनिक लेखा समिति सदस्य र राष्ट्रिय हित संरक्षण समिति थिए । जिल्लाको विभिन्न तहमा काम गर्दै आएका गाहा २०६९ मा नेकपा एमालेको जिल्ला अध्यक्षको जिम्मेवारीमा थिए ।
प्रकाशित मिति २०७९ माघ ११ गते बुधबार १२:१५




