पोेखरा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । थाई स्माइल एअरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको अडिओ सार्वजनिक भएपछि ठाकुरलाई पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई लेखी पठाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिए ।
घुस मागेको अडियो प्राप्त भएपछि घटनाको जाँचबुझका लागि मन्त्रीस्तरीय निर्णयबाट ठाकुरलाई निलम्बन गरिएको उनले बताए । यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पत्राचार गरिने मन्त्रालयले जनाएको छ ।
केही दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धन आयोगले विमानस्थलको आन्तरिकतर्फका प्रमुख पूर्ण चुडाललाई घुसबापतको रकमसहित पक्राउ गरेको थियो ।
तत्कालीन महाप्रबन्धक भोलाप्रसाद गुरागाईं उमेर हदका कारण सेवा निवृत्त भएपछि ठाकुर २०७६ फागुन ६ गते विमानस्थलको महाप्रबन्धकमा नियुक्त भएका थिए ।

प्रकाशित मिति २०७९ माघ २७ गते शुक्रबार ०२:२०